बुटवलमा राष्ट्रिय प्रांगारिक कृषि मेला सुरु, ३ दिन माटो परीक्षण शिविर सञ्चालन गरिने

बुटवलमा राष्ट्रिय प्रांगारिक कृषि मेला सुरु, ३ दिन माटो परीक्षण शिविर सञ्चालन गरिने

बुटवल।
बुटवलमा राष्ट्रिय प्रांगारिक कृषि मेला सुरु भएको छ ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा बुटवल मण्डपमा राष्ट्रिय प्रांगारिक कृषि मेला बिहीबार सुरु भएको हो ।

यही फागुन १४ गतेसम्म सञ्चालन हुने मेलाको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्थामन्त्री मण्डारीलाल अहिरले उद्घाटन गरे । मेलाको उद्घाटन गर्दै मन्त्री अहिरले नीति निर्माता, कर्मचारी र किसानबीचकाे तालमेल नमिल्दा कृषिमा साेचेअनुसारकाे प्रगति गर्न नसकिएकाे बताए । उनले त्यसमाथि पनि दु:खले काम गरेका किसानलाई हुनुपर्ने भुक्तानी राेकिनु दु:खद रहेकाे भनाइ राखे ।

मन्त्री अहिरले कृषि कर्म गरेका किसानलाई प्राेत्साहन र आवश्यक वातावरण बनाउन मन्त्रालय लागिपरेकाे बताउँदै किसानलाई सम्मान भएन भने देशकाे लागि कृषि क्षेत्रकाे याेगदान बढ्नुकाे साटाे घट्दै जाने बताए । उनले कृषि व्यवसाय र उद्यममा आफ्ना छाेराछाेरीलाई प्राेत्साहन गर्न पनि आग्रह गरे ।

मेलाको बारेमा जानकारी गराउँदै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले नेपालमा कुल जनसंख्याको ६२ प्रतिशत कृषि क्षेत्रमा आधारित भएपनि कृषि क्षेत्रको योगदान २४ प्रतिशत मात्रै रहेको र त्यसलाई सुधार गरी राष्ट्रिय अर्थतन्त्रमा योगदानमा बढोत्तरी गर्न कृषि क्षेत्रको व्यवसायीकरण एवं आधुनिकिकरणको लागि मेला आयोजना गरिएको बताए ।

त्यस्तै लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले कृषिकाे व्यवसायिक विकास र आधुनिकिकरणमा बुटवल उद्याेग वाणिज्य संघकाे प्रशंसा गरे । उनले कृषिमा प्रशस्त सम्भावना भए पनि उपयुक्त वातावरण बनाउन नसक्दा देशले त्यसबाट लाभ लिन नसकेकाे भनाइ राखे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, प्रदेश कृषि तथा भूमि व्यवस्थाकी कृषी सचिव डा नम्रता सिंह, नेपाल उद्याेग वाणिज्य महासंघका कार्यकारिणी सदस्य केशव भण्डारी, संघका पूर्वअध्यक्ष खिमबहादुर हमाल, सिद्धार्थ उद्याेग वाणिज्य संघ भैरहवाका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराम पाेख्रेल, तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष बाबुराम भुसाल, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेलगायतले भनाइ राखेका थिए ।

२०४१ सालमा उपत्यका बाहिर पहिलो पटक बुटवलमा औद्योगिक प्रदर्शनी गरेको बुटवल उद्योग वाणिज्य संघले २०६२ सालदेखि नियमित रूपमा विशिष्टिकृत कृषि मेला गर्दै आएको छ । सोही अनुसार यो मेला आयोजना गरिएको हो ।

५ दिनसम्म सञ्चालन गरिने मेलामा प्रांगारिक कृषिवस्तुको उत्पादन तथा प्रवर्द्धनमा जोड दिइनेछ । त्यस्तै उपभोक्तालाई प्रांगारिक कृषि, पशुपन्छी तथा मत्स्यजन्य पदार्थको बारेमा सचेतना प्रदान गरिने छ । प्रांगारिक कृषि प्रणाली तथा असल कृषि अभ्यास पद्धतीको प्रवर्द्धन, कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र मेशिनरी सम्बन्धी जानकारी गराइनेछ ।

कृषिमा आधारित उद्योगमा लगानी आकर्षित गर्ने तथा निर्यात योग्य वस्तुहरूको पहिचान र प्रवर्द्धन, कृषि, पशुपन्छी तथा मत्स्यजन्य उत्पादन भण्डारण तथा बिक्रीवितरणमा भएका उपलब्धिको जानकारी गराइने छ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा कृषिका अत्याधुनिक प्रविधिको प्रदर्शनी, कृषि परिकार, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शन, कृषि सेवासम्बन्धी ८८ वटा स्टल राखिएको छ ।

मेलामा जीवनाशक विषादी प्रयोग, प्रभाव र विकल्प, प्रांगारिक खेतीका लागि हालसम्मको प्रयास र उपलब्धि, मत्स्यपालन व्यवसाय, अवसर सम्भावना र चुनौती तथा कृषि बस्तुको बजारीकरणसम्बन्धी अन्तर्क्रिया तथा छलफल गरिनेछ ।

त्यस्तै कृषिसँग सम्बन्धित विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, कृषिसँग सम्बन्धित सांस्कृतिक सांगीतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।

त्यसैगरी मेलामा ११ र १२ गते २ दिन बाली परीक्षण शिविर राखिनेछ भने ११ गतेदेखि ३ दिन माटो परीक्षण शिविर सञ्चालन गरिने संघका महासचिव तथा मेला सम्पादन समितिका सदस्य सचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए । निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको मेलामा २० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।