कर्मचारीले गल्ती स्वीकार्दा पनि वडाध्यक्षहरू बचाउन लागे- मेयर बालेन

कर्मचारीले गल्ती स्वीकार्दा पनि वडाध्यक्षहरू बचाउन लागे- मेयर बालेन

काठमाडौं ।

काठमाडौं महानगरका मेयर बालेन शाहले गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिंगाे पार्टी नै लाग्ने गरेको आरोप लगाएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिंगाे पार्टी नै लाग्नु विडम्बना भएको बताएका हुन् ।

कर्मचारीलाई काठमाडौं महानगरपालिकाले गरेको कारबाहीलाई लिएर जनप्रतिनिधिले प्रश्न उठाएपछि मेयर बालेन आक्रोशित बनेका हुन् ।

मंगलबार कार्यपालिका बैठकमा वडाध्यक्षहरूले कर्मचारीलाई स्पष्टीकरण सोध्ने अधिकार कसको हो ? सीधै मेयरले कारबाही गर्न मिल्छ ? भन्दै प्रश्न गरेका थिए ।

कर्मचारीले आफ्नो गल्ती स्वीकार्दा पनि वडाअध्यक्षहरुले कार्यपालिकाबाट अगाडि बढाउन रोक्नु कर्मचारीलाई बचाउने खेल भएको बताएका छन् ।

शाहले लेखेका छन्, ‘कर्मचारीबाट के गलत भएको हो भन्ने पनि थाहा छ, कर्मचारी स्वयंले ‘मैले गलत गरेको हो’ भनेर लिखितरूपमा स्वीकारेको पनि थाहा छ, यति हुँदाहुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढ्न रोक्नुको अर्थ हो, वडाध्यक्षज्यूहरूको आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेल ।’

उनले अगाडि लेखेका छन्, यसलाई कर्मचारीको मनोबल के हुन्छ, मेयरले एकलौटी गर्न पाइँदैन भन्ने जस्ता प्रश्नले छोप्न खोजिन्छ । साँच्चै भ्रममा हुनुहुन्छ भने निस्कनुहोला । चोर भन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर छ। चोर भन्दा झस्किएर आफ्नो खुट्टा तान्नेहरूप्रति हाम्रो शंका छ। प्रष्ट हुनुहोस्, गलत कृत्यलाई कारबाही गर्दा भ्रष्ट, कमिसनखोर कर्मचारीहरूको मात्रै हो मनोबल खस्किने ।’