सकियो गैरआवासीय राजदूतहरूको लुम्बिनी सम्मेलन

सकियो गैरआवासीय राजदूतहरूको लुम्बिनी सम्मेलन

लुम्बिनी ।

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्धको शिक्षालाई कूटनीतिक शक्तिका रूपमा ग्रहण गर्नुपर्ने सन्देश दिइएको छ ।

परराष्ट्र मन्त्रालय र अनरी कन्सुलर कर्प नेपालको २ दिने सम्मेलनको अन्तिम दिन शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनीबाट उपप्रधान तथा परराष्ट्रमन्त्रीको उपस्थितिमा विभिन्न देशका गैरआवासीय राजदूत र महावाणिज्यदूतहरूले बुद्धको शान्ति र अहिंसाको मार्गलाई कूटनीतिक शक्तिका रूपमा प्रयोग गर्दै शान्ति र समृद्धिको नेतृत्व गर्न सकिने सन्देश दिएका हुन् ।

मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अहिले विश्वमा विभिन्न प्रकारका द्वन्द्वहरू देखापरेकाले त्यसका लागि बुद्धभूमि नेपालबाट पहल गर्न सकिने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले बुद्वको शिक्षा वैज्ञानिक र व्यावहारिक रहेको बताउँदै लुम्बिनी सम्मेलनले विश्वमा शान्ति, करुणा र अहिंसाको सन्देश दिन सफल हुनुपर्ने बताए । बुद्वले आफैँलाई चिन्नुपर्छ भनेर दिएको शिक्षा आजको विश्वमा झन् बढी अपरिहार्य बन्दै गएको उनको भनाइ थियो । उनले बुद्व दर्शनमा सबैभन्दा महत्वपूर्ण पाटोका रूपमा ध्यान (मेडिटेसन) रहेकाले यसलाई विश्वव्यापी बनाउनुपर्ने बताए ।

उनले मन केन्द्रित गरिने ध्यान बौद्व धर्ममा मात्रै सीमित नरहेको बताए । ‘तपाईं क्रिस्चियन हुनुहोस्, मुस्लिम वा हिन्दु, तर मेडिटेसन सबैले गर्दा मन शान्ति हुन्छ,’ उनले भने । उनले बुद्व जन्मस्थल लुम्बिनी जुनसुकै धर्म मान्नेहरूले अंगीकार गर्न सकिने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले खुसी, शान्ति र सन्तुष्टिका साथ बाँच्न बुद्धको शिक्षा महत्वपूर्ण हुने बताए । बुद्धले जबसम्म परीक्षण गरेर सत्य स्थापित हुँदैन, तबसम्म विश्वास नगर भनेको सन्दर्भ उल्लेख गर्दै बुद्ध जन्मस्थलबाट विश्वमा शान्ति र समृद्धिको सन्देश दिन पाउँदा निकै खुसी लागेको बताए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर गरिएको लुम्बिनी सम्मेलनले विश्वमा बौद्ध शिक्षा र यसको सन्देश पुर्‍याउने विश्वास लिए ।

उनले लुम्बिनी गुरुयोजनाका बाँकी काम र बृहत्तर लुम्बिनीको विकासमा प्राथमिकताका साथ काम गर्ने बताए ।

यस्तै लुम्बिनीमा आएका विभिन्न देशका गैरआवासीय राजदूत र महावाणिज्यदूतहरूलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले बौद्ध दर्शनले विश्वमा शान्ति र अहिंसा कायम गर्न महत्वपूर्ण योगदान गर्ने बताए ।

उनले विश्वमा शान्ति प्रवद्र्धन गर्ने र विश्वमा देखिएको द्वन्द्व समाधान गरी सहिष्णुता कायम गर्ने बताए । उपाध्यक्ष डा. लामाले बुद्धको शिक्षा विश्वभर फैलाउन सक्दा शान्ति, करुणा, सद्भाव कायम गर्न सकिने भएकाले यसको सन्देश प्रचार गर्न आग्रह गरे ।

बिहीबार सुरु भएको सम्मेलनमा विभिन्न १९ देशका गैरआवासीय राजदूत, विभिन्न देशका वाणिज्यदूतहरू र सरकारी अधिकारीहरू बुद्ध जन्मस्थल लुम्बिनीमै आएर बुद्व, शान्ति र समृद्विका लागि एकताबद्ध हुने सन्देश दिएका हुन ।

बुद्धको पवित्र जन्मस्थलमा आएर सम्मेलनमार्फत् विश्वमा बढ्दै गएको द्वन्द्व र अहिंसालाई त्याग्दै शान्तिबाटै समृद्धिको बाटोमा जान महत्वपूर्ण सन्देश दिन सकिएको आयोजक अनरी कन्सुलर कर्प नेपालका डिन विष्णुकुमार अग्रवालले बताए ।

मायादेवीमा भएको कार्यक्रममा इन्डोनेसियाका राजदूत एनआर हेरु, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बोलेका थिए । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोषका पदाधिकारी, बोर्ड सदस्य, पर्यटन व्यवसायीलगायतको उपस्थिति थियो ।

सम्मेलनमा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, सेयचेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी भएका हुन् ।

बिहीबार दिउँसो लुम्बिनी आएका उनीहरू बुटवलस्थित लुम्बिनी केबलकारको भ्रमण र शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनी आएर सम्मेलन सकाएका हुन् ।

नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायत विषयमा छलफल र प्रस्तुति गरिएको सम्मेलनका सहसंयोजक चन्द्र ढकालले बताए । शुक्रबार लुम्बिनी पुगेका मन्त्री, गैरआवासीय राजदूत र वाणिज्य दूतहरूलाई लुम्बिनी विकास कोषले स्वागत गरेको थियो ।

यस्तै, लुम्बिनीमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित विभिन्न देशका गैरआवासीय राजदूतहरूको उपस्थितिमा सीता अशोकको वृक्षरोपणसमेत गरिएको छ ।