न्यूजील्याण्डलाई हराउदै वेस्ट इण्डिज सुपर आठमा,अर्को खेल साँझ सुरु हुने

न्यूजील्याण्डलाई हराउदै वेस्ट इण्डिज सुपर आठमा,अर्को खेल साँझ सुरु हुने

काठमाडौँ ।

वेस्ट इन्डिज जारी टी-२० विश्वकपको सुपर ८ मा पुगेको छ । विहिबार बिहान सम्पन्न समुह सी अन्तर्गतको खेलमा वेस्ट इन्डिजले न्यूजील्याण्डलाई १३ रनले पराजित गरेसँगै विश्वकपको सुपर आठमा पुगेको हो ।

वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछाएको न्यूजील्याण्डले २० ओभरमा ९ विकेट गुमाउदै १३६ रन मात्र बनाएको थियो ।

न्यूजील्याण्डका लागि ग्लेन फिलिपले सर्बाधिक ४० रन बनाए भने फिन एलेनले २६ तथा मिचेल सान्टनरले अविजित २१ रन बनाएका थिए । त्यस्तै वेस्ट इन्डिजका बलर अल्जारी जोसेपले ४ र गुडाकेश मोतिले ३ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाउदै १४९ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि शेरफान रुथरवूडले सर्बाधिक ६८ रन बनाएका थिए । त्यसैगरी न्यूजील्याण्डका बलर ट्रेन्ट बोल्टले ३ तथा टिम साउथी र लुकी फर्गुसनले २-२ विकेट लिएका थिए ।

यो जितपछि वेस्ट इन्डिजले लगातार तीन खेलमा जित हासिल गरेर ६ अंक सहित समुह सी बाट सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै न्यूजील्याण्डले भने लगातार दोस्रो हार बेहोरेको छ र सुपर आठको यात्रा संकटमा परेको छ । यस समुहमा अफगानिस्तानले २ खेलमा दुवै जित हासिल गरेर ४ अंक बटुल्दै दोस्रो स्थानमा रहेको छ ।

अब अफगानिस्तानले शुक्रबार पिएनजीविरुद्धको खेलमा जित हासिल गरेमा सुपर आठमा पुग्ने छ भने न्यूजील्याण्ड सुपर आठको दौडबाट बाहिरिने छ ।

न्यूजील्याण्डले अब तेस्रो खेल शनिबार युगान्डासँग खेल्ने छ । त्यस्तै वेस्ट इन्डिजले भने जुन १८ मा अफगानिस्तानसँग खेल्ने छ ।

त्यस्तै आज अर्को खेल समुह डी अन्तर्गत बंगलादेश र नेदरल्याण्डसबीच हुदै छ । सेन्ट भिसेन्टस्थित अर्नोस भेल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।

दुवै देशका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने दबाब रहेको छ । यस अघि दुवैले खेलेका २-२ खेलमा एक जित र एक हार बेहोरेका छन् । बंगलादेशले श्रीलंकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रीकासँग पराजित भएको थियो ।

यस समुहबाट दक्षिण अफ्रिकाले ३ खेलमा तिनै खेल जितेर सुपर ८ मा पुगिसकेको छ भने श्रीलंकाले ३ खेलमा २ हार र एक नेपालसँगको खेल बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको छ । श्रीलंकाको यस विश्वकपमा सुपर ८ को सम्भावना लगभग सकिएको छ ।