लुम्बिनी ।
शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रूपमा अशोक स्तम्भलाई लिइन्छ ।
ई.पू. २४९ मा सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भमा कुँदिएको शिलालेख नै बुद्ध जन्मस्थल लुम्बिनी हो भन्ने ऐतिहासिक प्रमाणिक तथ्य हो ।
लुम्बिनीलाई बुद्ध जन्मस्थलका रुपमा चिनाउने मुख्य आधार अशोक स्तम्भका पुरातात्विक संरचनामा नकरात्मक असर पर्न थालेपछि नजिकै बालिने बत्तीलाई परिसर बाहिर सारिएको छ ।
युनेस्को, पुरातत्वविद्हरूले दिएको सुझावअनुसार नै लुम्बिनी विकास कोषले अशोक स्तम्भ नजिकै बालिँदै आएको दियो सेड हटाएर बाहिर निर्माण गरिएको उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बताए ।
‘लुम्बिनी चिनाउने भनेकै अशोक स्तम्भले हो, त्यसैले विगतमा अशोक स्तम्भ नजिकै बालिँदै आएको दियोलाई अलि टाढा लैजाने विज्ञहरूको सुझाव थियो, त्यही सुझावअनुसार नयाँ दियो सेडको स्थापना गरिएको छ,’ उपाध्यक्ष लामाले भने ।
लामाकै पहलमा अशोक स्तम्भ नजिकै रहेको दियो सेड हटाएर मायादेवी मन्दिर परिसरको पश्चिमपट्टि एकै दिन एक लाखसम्म दियो बाल्न मिल्ने गरी ‘दियो स्थल’ बनाइएको छ ।
युनेस्कोले सन् २०११ मा गरेको अध्ययनमै लुम्बिनी वरिपरि निर्माण भएका उद्योगहरूको धुवाँ, धुलो, सिमेन्टका कण र स्तम्भ नजिकै बालिएको बत्तीको धुँवाले अशोक स्तम्भको पुरातात्विक संरचनालाई नकरात्मक असर परेको देखाएको थियो ।
बत्ती बाल्दा त्यसबाट निस्किने कार्बन अशोक स्तम्भमा टाँसिएर पुरातात्विक संरचनमा नकरात्मक असर गरिरहेकाले त्यहाँबाट बत्ती बाल्ने स्थल हटाउन आफूहरूले सुझाव दिएको कोषका पुरातत्व महाशाखा प्रमुख एंव वरिष्ठ पुरातत्वविद् हिमालकुमार उप्रेतीले बताए ।
उनले लुम्बिनी वरिपरिका सिमेन्ट उद्योगबाट सिमेन्टको धुलो टाँसिएको, अशोक स्तम्भभित्र चढाउने विभिन्न सिक्का, दूध जस्ता फलफूलले समेत असर पारेको देखिएकाले सचेत हुनुपर्ने बताए ।
सन् २०११ देखि २०१३ सम्म पवित्र बगैँचा क्षेत्रमा युनेस्को जापानिज फन्ड एन्ड ट्रस्टको परियोजनाअन्तर्गत काम गर्दा दियो सेड स्थानान्तरण गर्न सुझाव दिइएको उप्रेतीले बताए । उनका अनुसार सोही परियोजनाअन्तर्गत अशोक स्तम्भको पुरातात्विक संरचना संरक्षणका लागि वाटरप्रुफ र संरक्षणको काम गरिएको थियो ।
अशोक स्तम्भको सुरक्षा र लुम्बिनीमा पुग्ने तीर्थालुहरूलाई मध्यनजर गरी कोषले मायादेवी मन्दिर प्रवेशद्धारको पश्चिमपट्टि दियो स्थल निर्माण गरेको छ । अहिले एकै पटकमा ८ हजार बत्ती बाल्न सकिन्छ । कोषले दैनिक १ लाख दियो बाल्न मिल्ने गरी दीर्घकालीन योजना बनाएको छ ।
नवनर्मित दियो स्थलमा अर्थमन्त्री प्रकाशशरण महत, पूर्वउपप्रधान तथा गृहमन्त्री एंव रास्वपाका सभापति रवि लामिछानेसहित विभिन्न धार्मिक गुरु एवं तीर्थालुहरूले बत्ती बालिसकेका छन् ।
गत माघ १२ गते उपाध्यक्ष डा. लामासहित खान्डो छिरिङमा रिपोन्छे, छोग्न्यी रिपोन्छे, टुंगो कर्मा साङम्बो रिपोन्छे र चिनियाँ चर्चित हलिउडका कलाकार जेटलीले दियो सेडको उद्घाटन गरेका हुन् ।
महायानी बुद्धिस्टहरूले आफ्नो परिवारको स्मृतिमा प्रायः दियो बाल्ने प्रचलन छ । बुद्धिस्टबाहेक अन्य तीर्थालुहरूले समेत लुम्बिनी पुगेपछि दियो बाल्ने प्रचलन बढ्दै गएको छ ।
व्यवस्थित रूपमा दियो स्थल निर्माण भएपछि धार्मिक एकता र सांस्कृतिक सम्बन्धसँगै कोषको आम्दानीमा समेत सघाउ पु¥याएको छ । बत्तीबाट माघ १२ देखि फागुन मसान्तसम्म १३ लाख ९ हजार ८०० रुपैयाँ बराबर आम्दानी भएको कोषको लेखा शाखाले जनाएको छ ।
Comment