सांसदहरूको सुझावअनुसार मात्रै बजेट, नीति तथा कार्यक्रम बनाउन प्रेम सुवालकाे माग

सांसदहरूको सुझावअनुसार मात्रै बजेट, नीति तथा कार्यक्रम बनाउन प्रेम सुवालकाे माग

काठमाडौं ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरूले दिएको सुझावअनुसार मात्रै बजेट, नीति तथा कार्यक्रम बनाउन सरकारसँग माग गरेका छन्।

सांसद सुवालले बजेट बनाउनुअघि सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रका जनतासँग सुझाव दिने कानूनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए।

आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० लाई अस्वीकार गरियोस् विरोधको सूचना प्रस्तुत गर्दै उनले अर्थमन्त्रीले आफ्नो पेवा जसरी बजेट खुरुखुरु आफैँले लेख्न नपाउने बताए।

संसद् सदस्यको सुझावअनुसार बजेट बनाउनु मात्र प्रजातन्त्र भएकाले सोहीअनुसार बजेट सरकारले बनाउनुपर्ने सांसद सुवालको भनाइ थियो। उनले विदेशी दलालसँग सुझाव लिएर बजेट बनाउने काम नगर्न पनि सरकारलाई सचेत गराए।

सांसद सुवालले भने, ‘सामान्य अवस्थामा अध्यादेश जारी गर्नु प्रजातन्त्र होइन। यो अध्यादेशमा समेट्नुपर्ने विषयतर्फ म अर्थमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु। अर्थमन्त्रीले बजेट खुरुखुरु लेख्ने प्रजातन्त्र होइन। संसद् सदस्यको सुझावअनुसार बजेट बनाउनु प्रजातन्त्र हो। अर्थ मन्त्रालयको कोष भनेको जनताको राजस्व हो। अर्थमन्त्री पेवा होइन। अर्थमन्त्रीले यो मेरो ढुकुटी हो। यो मैले छुन दिन्नँ भन्न पाउँदैनन्।’