२५ लाख घुस लिएको आराेपमा एन्फाका महासचिव राईविरुद्ध अख्तियारमा उजुरी

२५ लाख घुस लिएको आराेपमा एन्फाका महासचिव राईविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी परेको छ ।

आफूलाई फुटबल समर्थक बताउने सरिता परियारले अख्तियारमा एन्फा महासचिव राईले खेल पोशाक उत्पादन कम्पनी केटिएम सिटीसँग २५ लाख रुपैयाँ घुस लिएको दावीका साथ उजुरी गरेकी छन् ।

केटिएम सिटीका सिइओ निमा शेर्पा र अर्का कर्मचारी राजु सिंहबीच काठमाडौंका विभिन्न स्थानमा तीन पटक गरी २५ लाख रुपैयाँ राईलाई दिएको विषयमा च्याटमा गरेको कुराकानीको रेकर्डसहित परियारले अख्तियारका साथै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी)मा पनि उजुरी गरेको जनाएकी छन् ।

केटिएम सिटीलाई एन्फाले तिर्नुपर्ने पुरानो १ करोड ७५ लाख ९० हजार रूपैयाँ तिर्नका लागि राईले अध्यक्षलाई समेत दिनुपर्ने भन्दै घुस मागेको र त्यहीअनुसार २५ लाख रुपैयाँ दर्वारमार्गको ओल्ड हाउस, बानेश्वरको बेकरी क्याफे र बबरमहलको रातो भाले रेस्टुरेन्टमा लिएको परियारले उजुरीमा उल्लेख गरेकी छन् ।

केटिएम सिटीसँग लिएको पैसाको प्रमाण मेट्न राईले प्रयोग गर्दै आएको ह्वाटसएप नम्बर परिवर्तन गरेको र त्यसको जानकारी एसियाली फुटबल महासंघ (एएफसी) लाई पनि गराएको विवरण उजुरीमा छ ।