तनहुँमा विकास बजेट खर्च १७ प्रतिशत

तनहुँमा विकास बजेट खर्च १७ प्रतिशत

तनहुँ ।
चालु आर्थिक वर्षमा तनहुँमा विकास बजेट खर्च सन्तोषजनक नभएको पाइएको छ । साउनदेखि माघ मसान्तसम्म ७ महिनाको अवधिमा विकास बजेटतर्फ १७ प्रतिशत मात्रै खर्च भएको छ ।

पुँजीगततर्फ संघीय सरकारमार्फत ३ अर्ब ७५ करोड ८२ लाख ७६ हजार ८२९ विनियोजन भएकामा ६३ करोड ८८ लाख ६१ हजार ४९२ खर्च भएको प्रमुख कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिए । उनका अनुसार चालुतर्फ ८ अर्ब ७६ करोड ३६ लाख १७ हजार ६१ विनियोजन भएकामा ४ अर्ब ७७ करोड ४६ लाख ६८ हजार ४८२ खर्च भएको छ । यो ५४.४८ प्रतिशत हो ।

प्रदेश सरकारमार्फत विनियोजित बजेटमध्ये पुँजीगततर्फ २१.६४ प्रतिशत बजेट खर्च भएको छ । माघ मसान्तसम्ममा संघभन्दा प्रदेश सरकार मातहतका कार्यालयले विकास बजेट बढी खर्च गरेका कोष नियन्त्रक भट्टराईले बताए । पुँजीगततर्फ २ अर्ब ६२ करोड ५५ लाख १३ हजार विनियोजन भएकामा ५६ करोड ८२ हजार ४८ लाख हजार २६६ खर्च भएको उनले बताए ।

त्यस्तै, चालुतर्फ ८३ करोड ६४ लाख ८९ हजार ४०० विनियोजन भएकामा २६ करोड ६६ लाख २ हजार ४७ अर्थात ३१.८७ प्रतिशत बजेट खर्च भएको छ ।

योजना छनोट गरेर लागू गरेपछि सुरुको त्रैमासिकमा बोलपत्र प्रक्रिया हुने, बोलपत्र प्रक्रिया पूरा भएर काम सुरु गर्न ३ महिना लगाउने र कामको गति नबढाउनेलगायत कारणले विकास बजेटको खर्च न्यून देखिएको सो कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ७ महिनामा संघ र प्रदेशको गरी १८ दशमलव ९१ प्रतिशत विकास अर्थात पुँजीगत बजेट खर्च भएको छ । पुँजीगत बजेट ६अर्ब ३८ करोड ३७ लाख ८९ हजार ८२९ मा १ अर्ब २० करोड ७१ लाख ९ हजार ७५९ खर्च भएको छ ।

यस्तै, चालुतर्फ ५२ दशमलव ५१ प्रतिशत खर्च भएको छ । चालुतर्फ ९ अर्ब ६० करोड १ लाख ६ हजार ४६४ खर्च भएको कोष नियन्त्रण कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा संघ सरकारतर्फ ६ अर्ब ६२ करोड ७६ लाख ६२ हजार १८८ राजस्व संकलन भएको छ भने प्रदेशतर्फ १४ करोड ५२ लाख ३८ हजार ५८८ राजस्व संकलन भएको कोष नियन्त्रक भट्टराईले जानकारी दिए।