मन्त्री किरातीको ‘स्टन्डबाजी’ : बिहान साढे सात बजे नै मन्त्रालय पुग्ने, कार्यकक्षमा आफैं पोछा लगाउने

मन्त्री किरातीको ‘स्टन्डबाजी’ : बिहान साढे सात बजे नै मन्त्रालय पुग्ने, कार्यकक्षमा आफैं पोछा लगाउने

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आज आफ्नो कार्यकक्ष आफैं सफा गरेका छन् ।

मन्त्री किरातीले कार्यकक्षमा पोछा लगाइरहेको भिडियो उनको सचिवालयले सामाजिक सञ्जालमा पोष्ट गरेको हो ।

भिडियोमा उनी सधैंझैं निलो रंगको सुट लगाएर टेबलहरु पन्छाउँदै कार्यकक्षको भुइँ पुछिरहेको देखिन्छ । र त्यो काममा कार्यालय सहयोगी एक महिलाले सघाइरहेकी छन् । मन्त्री किराती सधैं बिहान साढे सात बजे नै मन्त्रालय पुग्ने गर्छन् ।

सोही क्रममा आज पनि बिहानै मन्त्रालय पुगेका मन्त्री किराती कार्यालय सहयोगी कर्मचारीले सफा गर्न नभ्याएपछि आफैं सफा गरेको उनका प्रेस संयोजक राजन राईले बताए ।

भोजपुरका हिरन राईले आफ्नो फेसबुकमा ‘सुदन किराती देख्दा गर्वले आँसु आयो, बिहानै ७ः३० बजे मन्त्रालय पस्ता मैले जे देखें’ लेख्दै मन्त्री किराँतीले कार्यकक्ष सफा गरिरहेको भिडियो पोष्ट गरेका छन् ।

मन्त्री किरातीले जसरी हरेक कार्यालयका प्रमुख, हाकिम, मन्त्रीले आफ्नो कार्यालय आफै सफा गरिदिए काम गर्ने कार्यालय सहयोगीको मनोबल बढ्नमा मद्दत पुग्ने भन्दै उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।