गठबन्धन गर्दा कांग्रेसकाे ५ प्रतिशत मत घट्याे : गगन

गठबन्धन गर्दा कांग्रेसकाे ५ प्रतिशत मत घट्याे : गगन

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका छन् ।

केन्द्रीय समितिको बैठकमा महासमिति बैठकको लागि तयार पारेको सांगठनिक प्रतिवेदन पेस गर्दै २०८२ मंसिर मसान्तभित्र महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

थापाले पार्टीमा ८ लाख ६९ हजार ५५१ जना क्रियाशील सदस्य रहेको बताएका छन् । प्रतिवेदनमा क्रियाशील सदस्यमध्ये १ लाख १४ हजार ५२५ जना पार्टीको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको उल्लेख गरेका छन् ।

उनले कांग्रेसमा लागेर पद पाइएला वा नपाइएला, सत्तामा हुँदा मलाई के फाइदा होला भनेर व्यक्तिगत स्वार्थ नहेर्ने ठुलो संख्या पार्टीमा आबद्ध भएको उल्लेख गरेका छन् ।

आमनिर्वाचनको प्रतिस्पर्धामा कहिल्यै नजितेका र निकट भविष्यमा समेत जित्ने सम्भावना नरहेका ठाउँमा पनि आदर्शको झिल्को जोगाएर संगठनलाई जीवन्त राख्ने कांग्रेसजनको उच्च समर्पण भाव अतुलनीय रहेको महामन्त्री थापाले बताएका छन् ।

यस्तै थापाले चुनावअघि गठबन्धन नगर्ने प्रस्ताव पनि गरेका छन् । गठबन्धनको कारणले लोकप्रिय मतको हिस्सा ५ प्रतिशतले घटेको उनले उल्लेख गरेका छन् ।

महामन्त्री थापाले भनेका छन्, ‘दुई चुनावको बीचमा हामीले १३.२ प्रतिशत मतदाता नै गुमायौं । हामीले २०७९ मा २०७४ जतिकै लोकप्रिय मतको हिस्सा कायम राख्न चाहिने मतभन्दा १५.७४ प्रतिशत कम पाएका छौं ।’

निर्वाचनमा अंकगणितका हिसाबले कांग्रेस ठूलो पार्टी त बन्यो, तर पार्टी एक्लै चुनाव लड्दा जस्तो कार्यकर्तामा विजयको भाव र उत्साह भने नआउने उनले उल्लेख गरेका छन् ।