सम्मरीमाईका किसानलाई निःशुल्क विद्युत सेवा

सम्मरीमाईका किसानलाई निःशुल्क विद्युत सेवा

रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका किसानलाई अब निःशुल्क विद्युत सेवा प्राप्त हुने भएको छ। कृषि बालीमा सिँचाइको लागि कृषि क्षेत्रलाई विद्युतीकरण गर्दै किसानलाइ निःशुल्क विद्युत उपलब्ध गराउने योजना ल्याएको जानकारी सम्मरीमाई गाउँपालिकाका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले सार्वजनिक गरेका छन्।
उनले गाउँपालिकाको हरेक कृषि सडक तथा ग्रामीण सडक लगायत आवश्यक स्थानमा कृषि प्रयोजनको लागि तार र पोलको व्यवस्थापन गर्दै मिटर जडान गर्ने बताए। अध्यक्ष श्रीवास्तवले भने, “व्यवस्थापन गरिएपछि कृषि प्रयोजनको लागि मात्र कनेक्सन दिइनेछ र त्यसको सम्पूर्ण भुक्तानी गाउँपालिकाले नै गर्नेछ।”
“अहिलेसम्म यहाँका किसानरू पम्पसेटबाट महगो इन्धन प्रयोगगरि सिँचाइ गर्दै आएका छन्” अध्यक्ष श्रीवास्तवले भने, “कृषि लागतलाई न्यून बनाउने र कृषकहरूको हौसला बढाउने उद्देश्य राखिएको यस योजनालाइ गाउँपालिकाले गौरवको रूपमा लिएको छ।” यसका लागि गाउँपालिकाले नेपाल विद्युत प्राधिकरण इकाइ भैरहवालाई प्रतिबद्धता पत्र हस्तान्तरण गरेको छ।
सम्मरीमाइ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुन्सी प्रसाद माझीका अनुसार, सो प्रतिबद्धता पत्र नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय काठमाडौँबाट स्वीकृत भइ लागत स्टीमेट तयार पारिने र अन्य प्रकृया अगाडी बढाउन गाउँपालिका र नेपाल विद्युत प्राधिकरणबीच लागत सझेदारी सम्झौता गरि बहुवर्षीय योजना निर्माण गरी कार्य गरिनेछ। सम्झौतापछि गाउँसभाबाट आवश्यक बजेट अनुमोदन गरी योजना सकेसम्म चाँडो लागू गरिने उनले बताए।
“सम्मरीमाई गाउँपालिका सत प्रतिशत कृषि क्षेत्र हो। यहाँ सिँचाइ सहज भएपछि कृषकहरूको हौसला बढ्ने र कृषि उत्पादनमा सुधार हुनेछ।” वडा नं. ७का वडाध्यक्ष एवम गाउँपालिकाको भौतिक पूर्बाधार बिकास समिती संयोजक राधेश्याम कुर्मीले भने, “निःशुल्क सिँचाइको व्यवस्थापनले कृषि लागतलाई पनि कम गर्ने र किसानको आयस्तर समेत बृद्धि गर्न मद्दत पुर्याउनेछ।” यो योजना किसानका लागि बरदान साबित हुनेमा हामी बिश्वस्त छौ, उनले भने ।