सरकारले घटायो बजेटकाे आकार

सरकारले घटायो बजेटकाे आकार

काठमाडाैँ ।

सरकारले चालु आर्थिक वर्षकाे बजेटकाे आकार घटाएकाे छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा गर्दै  १२.६२ प्रतिशतले बजेटको आकार घटाएर १५ खर्ब ३० अर्बमा झारेका हुन् ।

चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएका अर्थमन्त्री महतले संशोधित अनुमानअनुसार १५ खर्ब ३० अर्ब ६२ करोड मात्रै खर्च हुने बताए ।

लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएकाले बजेटको आकार घटाइएको जानकारी दिइयो ।

चालु आर्थिक वर्षमा विनियोजित लक्ष्य बजेटको ८७ प्रतिशत खर्च हुने भएको हो।

योसँगै चालुतर्फ ८८.८४ प्रतिशत, पुँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७.३९ प्रतिशत खर्च हुने अर्थमन्त्री महतको संशोधित लक्ष्य छ।

चालु आर्थिक वर्षमा राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ९ अर्ब ३० करोड, वैदेशिक अनुदानतर्फ ४० अर्ब १२ करोड, वैदेशिक ऋणतर्फ १ खर्ब ८० अर्बको स्रोत व्यवस्थापन हुने अर्थमन्त्री महतले उल्लेख गरेका छन्।