भारतमा दुर्घटनामा परी ३ नेपालीको मृत्यु

भारतमा दुर्घटनामा परी ३ नेपालीको मृत्यु

काठमाडौं ।

भारतमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना नेपालीको मृत्यु भएको छ।

असार २६ गते राति ८ बजे भारतको श्रीवस्ती जिल्लास्थित राजपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएको हो।

ठक्करबाट बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ बस्नेको मृत्यु भएको हो।

राप्ती सोनारी गाउँपालिका-१ का वडाध्यक्ष यामबहादुर खड्काका अनुसार ३३ वर्षीय लालबहादुर दसौदी, सुनखरियाका ५० वर्षीय गोबर्धन घर्ती र २८ वर्षीया कल्पना श्रेष्ठ दसौदीको मृत्यु भएको हो। लालबहादुर र कल्पना जेठाजु-बुहारी हुन्। गोबर्धन पनि नातेदार नै हुन्।

तीन जना राखेर लालबहादुरले चलाएको रा ४ प ७६५ नम्बरको मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिएको हो। दुर्घटनाको खबरपछि वडाध्यक्ष खड्का आफू पनि दुर्घटनास्थल पुगेका थिए।

ट्याक्टरले ठक्कर दिएपछि गम्भीर घाइते भएका लालबहादुर र कल्पनालाई उपचारको लागि भारतकै भिङ्गा अस्पतालमा लगिएको थियो।

त्यहाँ उपचारको क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। गोबर्धनको घटनास्थलमै मृत्यु भएको थियो।