इतिहासमै महँगो मूल्य तोकेर आइपिओ जारी गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सको विजुली काटियो

इतिहासमै महँगो मूल्य तोकेर आइपिओ जारी गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सको विजुली काटियो

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले सुनसरीस्थित रिलायन्स स्पिनिङ मिल्सको विद्युत लाइन काटिदिएको छ।

मिल्सले प्राथमिक साधारण सेयर (आइपिओ) को इतिहासमै सबभन्दा महँगो मूल्य तोकेर आइपिओ बिक्री गर्न लागेका बेला विद्युत लाइन काटिएको हो।

नेपाल धितोपत्र बोर्डको अनुमतिमा बिहीबारदेखि हालसम्मकै महँगो आइपिओ जारी गर्न लागेको रिलायन्सको विद्युत लाइन प्राधिकरणले काटिदिएको हो।

प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेर त्यस वापतको महसुल नतिरेको भन्दै उक्त उद्योगको लाइन मंगलबार राति ९ बजेतिर काटेको जनाएको छ।

सुनसरी– मोरङ औद्योगिक क्षेत्रभित्र रहेको रिलायन्स स्पिनिङले एग्रेलिक यार्न (धागो) उत्पादन गरेर भारत, टर्की लगायतका मुलुकमा निर्यात गर्दै आइरहेको छ।

महिला पुरूष गरी ४ हजार मजदुर कार्यरत रहेको रिलायन्सले दैनिक १४ मेगावाट विद्युत खपत गर्दै आइरहेको छ।

प्राधिकरणले रिलायन्सले ६० करोड २९ लाख रुपैयाँ महसुल तिर्न बाँकी रहेको र त्यसमा थप २५ प्रतिशत जरिवाना पनि दाबी गरिरहेको छ।

उद्योग र प्राधिकरण बीचको विद्युत महसुलको विवाद चलिरहेको बेला रिलायन्सले असार २७ गतेदेखि महँगो आइपिओ बुक बिल्डिङ प्रक्रियाबाट निस्कासन गर्ने तयारी गरेको थियो। तर संघीय संसदको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सको आइपिओबारे चासो राखेपछि तत्काललाई आइपिओ निस्कासन रोकिएको छ।