विवादमा आएको रिलायन्स स्पिनिङको आइपिओ निष्कासन रोकियो

विवादमा आएको रिलायन्स स्पिनिङको आइपिओ निष्कासन रोकियो

काठमाडौं ।

संघीय संसदको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सको आइपिओबारे चासो राखेपछि तत्काललाई आइपिओ निष्कासन रोकिएको छ।

कम्पनीले पहिलो चरणमा असार २७ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि सेयर जारी गर्ने तयारी गरेको थियो।

तत्काललाई रिलायन्सको आइपिओ रोक्ने निर्णय भएको धितोपत्र बोर्डले जानकारी दिएको छ।

वित्तीय विवरणका कारण विवादमा आएको रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ प्रक्रियामार्फत् मूल्य निर्धारण गरेर आइपिओ जारी गर्न लागेको थियो।

कम्पनीको प्रतिकित्ता सेयर मूल्य ८ सय २० रूपैयाँ ८० पैसा तोकिएको छ।

यसै विषयमा समितिले चासो देखाएर धितोपत्र बोर्डसँग स्पष्टीकरण मागेको छ।

अहिलेकै अवस्थामा कम्पनीले तोकेको मूल्यमा आइपिओ जारी गर्न दिँदा सर्वसाधारण लगानीकर्ता ठगिन सक्ने भन्दै समितिले मंगलबार यस सम्बन्धी विस्तृत विवरण पेस गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो।

कम्पनीको मूल्य के आधारमा तय गरिएको हो? बुक बिल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो? भन्ने प्रश्नको जवाफ ७ दिनभित्र दिन समितिले भनेको छ।