आजबाट मनसुनको सक्रियता कम भएपनि यी प्रदेशमा भारी वर्षा हुने

आजबाट मनसुनको सक्रियता कम भएपनि यी प्रदेशमा भारी वर्षा हुने

काठमाडौं ।

नेपाल नजिक रहेको मनसुनको न्यून चापीय रेखा दक्षिणतिर सर्दै जाँदा देशभर मनसुनको सक्रियतामा कमी आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मौसमविद् राजु प्रधानाङ्गाका अनुसार अपराह्नबाट सुदूरपश्चिम प्रदेशमा पनि वर्षा रोकिने छ।

सुदूरपश्चिम प्रदेशको तराईका जिल्लामा  पछिल्लो २४ घन्टामा भारी वर्षा भएको छ।

कञ्चनपुरको दोधारा क्षेत्रमा त हालसम्मकै ‘रेकर्ड’को वर्षा भएको प्राधानाङ्गले जानकारी दिए। त्यहाँ पछिल्लो २४ घन्टामा ६२२ मिलिमिटर वर्षा भएको थियो। यसअघि सन् २०१७ मा हेटौंडामा ५१६ मिलिमिटर वर्षा भएको थियो।

‘नेपाल नजिक रहेको मनसुनको न्यून चापीय रेखा दक्षिणतिर सर्दै जाँदा वर्षात कम हुने देखिन्छ। आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना नभएको होइन। तर यो अपराह्नपछि कमजोर बन्दैजान्छ,’ उनले भने। सुदूरपश्चिम क्षेत्रमा सक्रिय मनसुन पनि कमजोर बन्दै गएको उनले बताए।

महाशाखाले आइतबार नै बुलेटिन जारी गरेर न्यून चापिय रेखा सोमबादेखि क्रमिकरूपमा दक्षिण तिर सर्दै जाने बताएको थियो।

‘सोमबारदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले भनेको थियो।