मकै गोडिरहेकी महिलाको करेन्ट लागेर मृत्यु, ३ महिला घाइते

मकै गोडिरहेकी महिलाको करेन्ट लागेर मृत्यु, ३ महिला घाइते

रुकुम ।

रुकुम पश्चिममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

करेन्ट लागेर ३ महिला घाइते भएका छन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन पोख्रेलले जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ८ मा मकै गोड्न गएको बेला करेन्ट लागेर ६७ वर्षीया झुपादेवी रोकाको घटनास्थलमै मृत्यु भएको बताए।

घटनास्थल पुगेका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक ऋषि पाठकले करेन्ट लागेर थप तीन जना घाइते भएको बताए।

६० वर्षीया चुकी वली, ६० वर्षीया सुशीला वली र ३२ वर्षीया जमुना बुढा वली घाइते भएका छन्।

घाइतेहरुको अवस्था खतरामुक्त रहेको पनि पाठकले बताए।

उनीहरू छिमेकीको बारीमा मकै गोड्न गएका थिए। बिजुलीको पोलबाट भुइँमा तार लत्रिएको थियो। उक्त तार मकै गोड्ने क्रममा झुपादेवीले छोएकी थिइन्।

उनलाई करेन्ट लागेपछि अरूले उनलाई बचाउने प्रयास गर्दा करेन्ट लागेको पाइएको छ।

घाइतेहरूको जिल्ला अस्पताल सल्लेनमा उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ।