आज यी ५ प्रदेशमा भारी बर्षा हुने, सचेत रहन आग्रह

आज यी ५ प्रदेशमा भारी बर्षा हुने, सचेत रहन आग्रह

काठमाडौं

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा चितवनको गोविन्द बस्तीमा भारी वर्षा भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा १५५.८ मिलिमिटर वर्षा भएको छ। चितवनकै कल्याणपुरमा १२४ मिलिमिटर वर्षा भएको छ। नवलपुरको देउरालीमा ९७, पाल्पाको बल्याङगढीमा १०१, अछामको मंगलसेनमा ९६.४ मिलिमिटर वर्षा भएको छ।

अहिले बिहान कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिहीबार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न तथा त्यसबाट ती क्षेत्रको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।