मर्चवारमा बहुउद्देशीय सडकः ग्रामीण विकासमा नयाँ आयाम

मर्चवारमा बहुउद्देशीय सडकः ग्रामीण विकासमा नयाँ आयाम

लुम्बिनी ।
रुपन्देहीको कोटहीमाइ गाउँपालिकाले बहुउद्देशीय सडक निर्माण गरेको छ । प्रदेश र स्थानीय सरकारको साझेदारीमा २५ लाखको लागतमा निर्माण सम्पन्न नाला सहितको ४ कि.मी. सडक, गाउँपालिकाको दीर्घकालीन विकास रणनीतिमा महत्वपूर्ण रहेको स्थानीयको भनाइ छ ।

बहुउद्देशीय नयाँ सडकको निर्माणबाट स्थानीय बासिन्दा उत्साहित छन् । “सडक निर्माण भएपछि हामीलाई अस्पताल जान, विद्यालय र बजारसम्म पुग्न निकै सजिलो भएको छ”, कोटहीमाइ–४ का राम बचन यादवले भने, “अब हिउँद र वर्खामा पनि जान÷आउन समस्या छैन ।”

जगदीश बर्माले भने, “नयाँ सडकले सिंचाइ र जलनिकास समेतको उचित प्रबन्ध गरेको छ । यसले वडा नं. ३, ४, ५, र ७ का एक हजार हेक्टर खेती डुबान हुने समस्यालाई पनि समाधानको उपाय खोजेको छ ।” जोतिया, रोपाइँ, सिंचाइ र बाली ढुवानी लगायत कार्यका लागि पनि उपयोगी रहेको बर्माले बताए ।

गाउँपालिका प्राबिधिक शाखा प्रमुख इन्जिनियर नवराज भण्डारीले, पुरानो जीर्ण नालाको संरक्षणसँगै नयाँ कृषि सडक निकालिएको बताए । उनले भने, “सडकको आवश्यक पर्ने भागमा कल्भर्ट हालेर पानीलाइ निकास दिइएको छ ।” सडकसँगैको नालामा सिंचाइका लागि आवश्यक पानीको भण्डारण गर्न मिल्ने बनाइएको उनको भनाइ छ । “गाउँपालिकाले सडकमा हरियाली विस्तार, सोलार बत्ती जडान र नियमित मर्मत सम्भारको योजना सहित त्यसको दीर्घकालीन उपयोगिता सुनिश्चित गरेको छ ।” ई.भण्डारीले बताए ।

गाउँपालिकाका अध्यक्ष बालकृष्ण तिवारीका अनुसार, सडकको निर्माणले स्थानीयबासीको जीवनस्तरमा व्यापक सुधार ल्याउने अपेक्षा गरिएको छ । “हामीले सो सडकबाट कृषि, व्यापार, स्वास्थ्य र शिक्षा र रोजगारमा समेत सुधार ल्याउने लक्ष्य लिएका छौं”, उनले भने, “यसको विशेषता बहुउद्देशीय उपयोग हो ।”

“मुख्य सडकसम्मको शीधा पहुँचलाई यसले सहज बनाएको तिवारीले बताए । अहिले एकतर्फ नाला, अर्कोतर्फ सँगसँगै सडक निकालिएको छ । आगामी दिनमा सडकलाई ग्रभेल र तरपोलको व्यवस्थापन गरिने अध्यक्ष त्रिपाठीले जानकारी दिए । सडक निर्माणले घर–जग्गाको मूल्यांकन पनि बढेको उनले बताए ।

“यो सडक कोटहीमाइको विकास र समृद्धिको मार्गमा कोसेढुंगा हो”, अध्यक्ष त्रिपाठीले भने, “यसले स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने छ । निर्माणका क्रममा हरियाली संरक्षण तथा माटोको कटान नियन्त्रणमा पनि ध्यान दिइएको छ, जसले पर्यावरणीय सन्तुलनलाई कायम राख्न मद्दत पुर्याउने देखिन्छ ।”