हुरीबतासले पर्खाल भत्किँदा च्यापिएर एक महिलाको मृत्यु

हुरीबतासले पर्खाल भत्किँदा च्यापिएर एक महिलाको मृत्यु

नेपालगञ्च ।

बाँकेमा गएराति आएको हुरीबतासले पर्खाल भत्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर–१४, वीरगञ्जका मीना खातुन छन् ।

बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार कोहलपुरको हवल्दारुरमा हुरीबतासले पर्खाल भत्किँदा खातुनलाई च्यापेको थियो । उनले स्थानीय राम्रो इन्टरप्राइजेजलगायतमा काम गर्ने गरेको प्रहरीको भनाइ छ ।

त्यस्तै विद्युत्‌को पोलमा क्षति पुर्‍याउँदा बाँकेका केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द भएको छ ।

जिल्लाको डुडुवा, राप्तीसोनारी, नरैनापुरलगायतका स्थानमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण शाखाका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए ।

लामिछानेले राप्तीसोनारीको जंगलमा रुख ढलेको र त्यसलाई हटाउन केही समय लाग्ने भएकाले विद्युत् आपूर्ति सहज गराउन समय लाग्ने बताए । उनका अनुसार कोहलपुरमा ९, डुडुवामा ९, खजुरामा ८ र राप्तीसोनारीमा ५ गरी ३१ विद्युतीय पोल ढलेको अवस्थामा छन् । ‘अझै कहाँ–कहाँ कति ढलेका छन्, विस्तृत विवरण आएको छैन’, उनले भने ।

हुरीबतासका कारण जिल्लाको डुडुवा गाउँपालिका वडा नं १ खडैचामा आगलागी हुँदा ३४ खरले छाएका घर जलेका छन् । घरमा रहेका अन्नपातसमेत जलेको प्रहरीले जनाएको छ ।