मर्चवार आदर्श मा.बि.ले खरिद गरेको बस निजी बिद्यालयले सञ्चालन गर्दै

मर्चवार आदर्श मा.बि.ले खरिद गरेको बस निजी बिद्यालयले सञ्चालन गर्दै

लुम्बिनी ।
कोटहीमाई गाउँपालिका–५ मझगावाँस्थित एक सामुदायिक विद्यालयको बस निजी विद्यालयले सञ्चालन गरेको छ । विद्यार्थीहरूको सुविधाका लागि खरिद खरिएको लु १ क ५५८१ नम्बरको सो बस, विद्यालय आफैंले सञ्चालन गर्न नसकेको भन्दै २०८० साउन ७ गतेदेखि निजी विद्यालयलाई भाडामा दिएको हो ।

मर्चवार आदर्श मा.बि.ले बुद्ध उन्नोभेटिभ रिसर्च एण्ड टेक्निकल इन्स्टिच्युट प्रा. लि.द्वारा संचालित विराट स्मार्ट नामको निजी विद्यालयलाई सो बस भाडामा दिएको जनाएको छ । प्रदेश सरकारको २५ लाख र विद्यालयबाट २ लाख ७८ हजारको साझेदारीमा २०७९ फागुन २३ गते सो बस खरिद गरिएको थियो ।

प्रदेस सांसद वसीउद्दीन खाँले उद्घाटन गर्नु भएको सो बस सञ्चालनका लागि श्रोत अभावमा झण्डै ४ महिना विद्यालयमै थन्किएको थियो । पछि २०८० साउन ७ गते बुद्ध उन्नोभेटिभ रिसर्च एण्ड टेक्निकल इन्स्टिच्युट प्रा.लि. लुम्बिनी सांस्कृतिक नगरपालिका वडा –२ संग मासिक २५ हजारका दरले प्रत्येक ३ महिनामा भाडा बुझाउनेगरी विद्यालयले सम्झौता गरेको छ ।

विद्यालयको गुणस्तर बढाउन तथा विद्यार्थीलाइ यातायातको सुविधा दिने उद्देश्यले खरिद गरिएको सो बसको दुरुपयोग भइरहेको बिद्याथी/अभिभावकको आरोप छ । विद्यालयको आवश्यकता, क्षमता र श्रोतको अध्ययन बिना बस खरिदगरि भाडामा दिइएको गुनासो गर्दै कक्षा १०का एक विद्यार्थीले सो बस विद्यालयले तत्काल फिर्ता लिइ संचालन गर्न सुझाव दिए ।

“सामुदायिक विद्यालयका लागि खरिद गरिएको सो बस निजी विद्यालयका विद्यार्थीहरूले प्रयोग गरिरहेको छ” समाजसेवी गुरूबचन यादवले भने, “बस खरिदको खबरले उत्साहित भएका थियॏ, तर विद्यालयले बस सञ्चालन गर्न नसक्दा मन साह्रै दुखेको छ ।” भाडामा दिइएको सो बस तत्काल फिर्ता गराइ बिद्यालयको हितका लागि ब्यवस्थापन गर्न उनको माग छ ।

विद्यालयको बसलाई बनभोज र विवाह पार्टीका लागि समेत भाडामा दिने गरिएको छ । समझौता निजी विद्यालय सित भएपनि २०८० फागुन २७ गते कोटहीमाई–४ स्थित श्री गणेश सामुदायिक प्राथमिक विद्यालयलाई बनभोजका लागि १२ हजारमा भाडामा मर्चवार आदर्श मा.बि.ले दिएको भरपाइबाट देखिन्छ । त्यसैगरि केही महिना अगाडी मर्चवार आदर्श माध्यमिक विद्यालयका एक शिक्षकको छोरीको विवाहमा समेत सो बस प्रयोग गरिएको प्रत्यक्षदर्शी राजेन्द्र गुप्ताले बताए ।

मर्चवार आदर्श मा.वि.का प्रधानाध्यापक धनञ्जय त्रिपाठीले स्थानीय सरकारले बस सञ्चालनका लागि कुनै चासो नदेखाएकोले भाडामा दिन बाध्य भएको बताए । उनले भने, “हामी पूर्ण रूपमा स्थानीय सरकारको अधिनमा छौ । विद्यार्थीहरूबाट कुनै प्रकारको शुल्क लिएका छैनौ । बस थन्किएपछि चालकको तलब पनि दिने अवस्था छैन । गाउँपालिकामा सञ्चालन खर्च माग गर्दा बेवास्ता गरिन्छ ।“ बसको इन्धन, मर्मत र चालक खर्च कहाँबाट, कसले व्यहोर्ने ? प्र.अ.त्रिपाठीको प्रश्न छ ।”
विद्यालयको आन्तरिक स्रोतबाट शिक्षक/कर्मचारी भर्नागरि विद्यालय संचालन गरिएपनि त्यो पर्याप्त नरहेको त्रिपाठीले बताए ।

त्यसैगरि मझगावा चोकमा रहेका विद्यालयका १४ वटा व्यवसायिक सटर समेत सामान्य भाडामा दिइएको भएपनि सो को भाडा समेत समयमा उठ्न नसकेको भन्दै, २–३ वर्षसम्मको सटर भाडा बाँकी रहेको त्रिपाठीको भनाइ छ ।

कोटहीमाई गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक मनोहर चौधरीले बस सञ्चालनको लागि गाउँपालिकाबाट खर्च व्यहोर्ने कुनै सहमति नभएको बताए । उनले भने, “विद्यालयले आफ्नो क्षमतामा सञ्चालन गर्न प्रदेश सरकारबाट अनुदान माग गरेको थियो ।” बस सञ्चालनको लागि विद्यालयको आफ्नो थुप्रै आन्तरिक स्रोत रहेको र तिनको सदुपयोग नभएको चौधरीले बताए । “सामुदायिकका लागि खरिद गरिएको बस निजी विद्यालयलाई दिन मिल्दैन“ उनले भने, “त्यो बस तत्काल फिर्ता लिइ बिद्यालय स्वयम्ले सन्चालन गर्नुपर्छ ।”