गायिका अलका याज्ञनिकले गुमाइन् सुन्ने क्षमता

गायिका अलका याज्ञनिकले गुमाइन् सुन्ने क्षमता

नयाँ दिल्ली ।

भारतकी पाश्र्व गायिका अलका याज्ञिकलाई न्युरो रोग लागेको छ । यो रोगका कारण उनको सुन्ने क्षमता गुमेको छ ।

गायिकाले सामाजिक सञ्जाल एउटा पोस्ट गरेर आफूलाई लागेको रोगबारे बताएकी हुन् । पोष्टमा गायिकाले लामो समयदेखि आफू निष्क्रिय रहनुको कारण पनि खुलाएकी छिन् ।

पोष्टमा उनले आफ्ना फ्यान तथा अन्य कलाकारहरूलाई चर्को स्वर बज्ने गीत संगीतबाट टाढा रहन सुझाव दिएकी छिन् । आफू किन गायब भएको भनेर सोधिरहने फ्यान, साथी, फलोअर्स र शुभचिन्तकहरूका लागि भन्दै उनले सो पोष्ट गरेकी हुन् ।

केही हप्ता अघि हवाई यात्रा गरेर विमानबाट ओर्लिर्ने क्रममा आफूले केही सुन्न नसकेको गायिकाले महसुस गरिन् । डाक्टरलाई देखाउँदा भाइरल आक्रमणका कारण गायिकालाई दुर्लभ सेन्सरी नर्भ हियरिङको समस्या भएको देखियो ।

पोष्टको अन्त्यमा गायिकाले मानिसहरूलाई चर्को आवाज नसुन्न र हेडफोन कम प्रयोग गर्न सल्लाह दिएकी छिन् । कुनै दिन व्यावसायिक जीवनले स्वास्थ्यमा पारेको हानिबारे कुरा गर्ने पनि उनले बताएकी छिन् ।

५८ वर्षीया अल्का याज्ञिक बलिउडकी चर्चित पाश्र्व गायिका हुन् ।