संसद भवनभित्र ‘सोसलाइजेशन बार’ राख्न सांसद बजगाईंको प्रस्ताव

संसद भवनभित्र ‘सोसलाइजेशन बार’ राख्न सांसद बजगाईंको प्रस्ताव

काठमाडौं ।

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संघीय संसद भवनभित्र ‘सोसलाइजेशन बार’ प्रस्ताव गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले विदेशी पाहुन र पर्यटकका लागि संसद भवनभित्र ‘सोसलाइजेशन बार’ राख्नु उचित हुने सुझाए ।

‘अहिले बन्दै गरेको संसद भवनभित्र विदेशी पाहुनाहरु आउँदा खेरि सोसलाइजेशन गर्ने बार निर्माण गर्ने हो कि ! मैले यसमा ध्यान आकृष्ट गराउन चाहेँ । यो पर्यटकीय हिसाबले पनि महत्वपूर्ण छ’ उनले भने ।

यस्तो अभ्यास भिभिन्न देशमा रहेको र त्यसको आफूले समेत अवलोकन गरेको उनले सुनाए ।

‘मैले २००६ तिर अमेरिकाको कंग्रेस र सिनेको अफिसहरु घुम्ने मौका पाएको थिएँ । सिनेटमा आतिथ्यता गर्ने वा घुम्ने पाहुवाहरु वा पर्यटकहरुलाई त्यहाँ बार बनाइँदो रहेछ । डेमोक्र्याट्सहरुले आफ्नो बारमा सोसलाइजेशन गर्दा रहेछन् । रिपब्लिकनहरुले आफ्नो बारमा सोसलाइजेशन गर्दा रहेछन् । त्यहाँ ड्रिङ्स पनि खान पाइन्छ’ उनले भने ।

आफूले लण्डन स्कुल अफ इकोनोमिक्सको क्यान्टिनमा जाँदा बार रहेको पाएको सुनाए ।

‘म लण्डन स्कुल अफ इकोनोमिक्सको क्यान्टिनमा जाँदा त्यहाँ पनि बार रहेछ । त्यसको लिमिटेशन हुन्छ’ सांसद बजगाईंले भने ।

सांसद बजगाईंका अनुसार समाजीकरणले कुनै विशेष समाज वा समूहको मापदण्ड, मूल्य र व्यवहारलाई सिक्ने प्रक्रियालाई जनाउँछ । यसले अरूसँग अन्तरक्रिया र सांस्कृतिक ज्ञानको प्रसारण समावेश गर्दछ । यसका लागि संसद भवनमा सोसलाइजेशन बार आवश्यक छ ।