पुर्वबाट मनसुनको प्रकोप सुरु : संखुवासभामा पहिरोले तीनवटा घर र ताप्लेजुङमा काठेपुल बगायो

पुर्वबाट मनसुनको प्रकोप सुरु : संखुवासभामा पहिरोले तीनवटा घर र ताप्लेजुङमा काठेपुल बगायो

संखुवासभा ।

संखुवासभाको खाँदवारी नगरपालिका- ११ मा पहिरोले तीन घर र एक गोठ बगाएको छ।

बुधबार राति वर्षासँगै अरूण नदीको बहाव बढेर मावाखोलामा बढेपछि पहिरोले तीन घर र एक गोठ बगाएको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार घर बगाउँदा मणिप्रसाद राई घाइते भएका छन्। उनको घुँडामा चोट लागेको छ।

उनको ढुंगा र माटोले बनेको जस्ताको छानो भएको एकतले घर पनि बगाएको थियो।

उनीसँगै सोही वडाका रामप्रसाद राई, दिलबहादुर राईको घर पनि बगाएको छ भने रत्नबहादुर राईको गोठ बगाएको प्रहरी निरिक्षक लामिछानेले जानकारी दिए।

‘पूर्व जानकारी भएकाले ठूलो मानवीय क्षति भएको छैन,’ उनले भने, ‘स्थानीयले खाद्यान्न र गाइवस्तु अन्य ठाउँमा सारिसकेका थिए।’

उनका अनुसार जोखिम क्षेत्रआसपासमा मानिसहरू बर्खा सुरू भएसँगै अन्य ठाउँमा गइसकेका हुन्छन्। त्यसैले भौतिक क्षतिमात्र भएको हो।

गएरातिको पानीले घरसँगै चन्दनपुरबाट चिचिला गाउँपालिका तर्फ जाने काठेपुल पनि बगाएको उनले बताए।

यस्तै,

अविरल वर्षाले ताप्लेजुङको सिसावा खोलामा आएको बाढीले एउटा काठेपुल बगाएको छ । सवारीसाधन र स्थानीय आउजाउ गर्दै आएको उक्त पुल बाढीले बगाएपछि फक्तालुङ गाउँपालिकाका स्थानीय प्रभावित भएका छन् । वडाध्यक्ष लिम्बुले सिसावा खोलामा आएको लेदोसहितको बाढीले तमोर नदी पनि थुनिएको जानकारी दिए ।

नेपालमा जेठ २८ गतेदेखि मनसुन सुरू भएको हो। गतवर्ष ताप्लेजुङ र संखुवासभामा बाढीले ठूलो क्षति गरेको थियो।