-
विशाल बस्नेत
महाेत्तरी ।
बर्दिवास-४ का जनक परियारको परिवार यहाँ बसेको पुस्तौँ भयो । हजुरबुबा, बुबा र आफू गरी ३ पुस्ताले यही ठाउँमा बिताइसकेको परियारलाई सम्झना छ ।
तर, सोही ठाउँमा पक्की घर बनाउने र खुसीसाथ परिवारसँगै बस्ने परियारको सपना भूमाफियाका कारण भताभुंग भएको छ ।
गौशाला रामनगरकी अम्बिका श्रेष्ठले आफ्नो बुबा रामविलास श्रेष्ठको जग्गा भन्दै एकाएक लालपुर्जा देखाउँदै आधा शतकदेखि भोगचलन गर्दै आएको जग्गामा हकदाबी गर्न आएपछि परियारको सपनामा पूर्णविराम मात्र लागेको छैन, घरवारविहीन बन्ने चिन्तासमेत थपिएको छ ।
स्थानीयका अनुसार यो जग्गा २०२१ सालमा स्थानीय कर्णबहादुरले ढालफाट गरी बसोबास सुरु गरेका हुन् । जंगल क्षेत्र फडानी गरेर बस्ती बस्न सुरु भएको यो ठाउँमा झन्डै ६ बिघा जग्गा छ । २०३६ सालपछि कर्णबहादुरले पहिलो पटक उक्त जग्गामध्येबाट स्थानीय चन्द्रबहादुर परियारलाई १७ कठ्ठा, भोला महतोलाई ५ कठ्ठा, बिन्देश्वर महतोलाई ५ कठ्ठा र चन्देश्वर महतोलाई ५ कठ्ठा बिक्री गरेको अभिलेखमा देखिएको छ ।
यो जग्गा ऐलानी जग्गाका रूपमा कागज बनाएर बिक्री वितरण भएको थियो, जुन तत्कालीन समयमा बनेको कागजबाट नै प्रमाणित हुन्छ । उनीहरूबाटै खरिद गरेर अहिले २४ घरपरिवारले यहाँ स्थायी बसोबास गर्दै आएका छन् । यसमध्ये कतिपय बाहिरवाट पनि आएर खरिद गरेका छन् भने धेरैजसो तत्कालीन समयमा खरिद गर्नेका सन्तान र आफन्त छन् ।
जग्गा खरिद गरेको झन्डै आधा शतकपछि उक्त जग्गा नम्बरी भएको भन्दै लालपुर्जाको सक्कल देखाएर उठिबास बनाउने अवस्था सिर्जना भएपछि परियार जस्तै यहाँ बस्ने २४ घरपरिवार यतिबेला हारगुहार गरिरहेका छन् ।
पूर्वगाविस उपाध्यक्ष सोमबहादुर कार्की भूमाफियाहरूको भित्री सेटिङमा २४ घरपरिवार उठिबास हुनुपर्ने अवस्था सिर्जना हुँदै गएको बताउँछन् । आफू जनप्रतिनिधि हुँदासमेत उक्त जग्गाको धनीपुर्जा भएको कहिल्यै थाहा नभएको उनकाे भनाइ छ ।
‘हामी यहीँ हुर्केका हौँ । त्यो जग्गाको क्षेत्रभित्र बसोबास गर्ने स्थानीयलाई जग्गा हकभोगको प्रमाणितसमेत गरेका थियौँ,’ उनले भने, ‘ठुलो गिरोहको चलखेल छ यहाँ । बर्षौँदेखि भोगचलन गरिरहेको घरघडेरीबाट विमुख बनाउनेहरूसँग हामी डटेर लड्छौँ ।’
नगर क्षेत्रभित्र यस्तै प्रकृतिका हजारौँ बिघा जग्गा छन् । स्थानीय सरकारले समेत यस्ता अव्यवस्थित जग्गाहरूलाई व्यवस्थित बनाउने अभियानअन्तर्गत जोतभोग गरिरहेकाहरूको नाममा ल्याउन नापजाँचसमेत गरिसकेको छ । नापजाँच गर्दा त्यस क्षेत्रभित्र बसोबास गर्ने २४ घरपरिवारको नाममा अनौपचारिक दर्ता भइसकेको छ ।
तर, एकाएक उक्त क्षेत्रभित्रको झन्डै ६ बिघा जग्गामा कसरी चलखेल भयो भन्ने विषयमा स्थानीय स्वयं अचम्ममा परेका छन् । ‘यस्तो अवस्था आउला भन्ने हामीले त सपनामा पनि सोचेका थिएनौँ,’ पीडित विनोदकुमार यादवले भने, ‘भएको जमिन त्यतिमात्र हो, अब के गर्ने होला ?’
हरिविलास श्रेष्ठको नाममा सम्पूर्ण जग्गा पुगेपछि पीडितहरू घरवारविहीन बन्नबाट जोगाइदिन आग्रह गर्दै स्थानीय जनप्रतिनिधिहरूसँग हारगुहार गरिरहेका छन् । तर, पछिल्लो समय वडाध्यक्षले भने अपेक्षा गरेजसरी सहयोग नगरेको पीडितहरूको आरोप छ ।
‘उहाँले केही जग्गा हरिविलासकी छोरीलाई दिए समस्या समाधान हुन्छ भन्नुहुन्छ । तर पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गा अरूलाई कसरी दिनु ?’, पीडित जनक परियारले भने, ‘कतिपयले थोरै जग्गामा नै जीविकोपार्जन गर्दै आएका छन् ।’
नगरपालिकाले पीडितहरूलाई न्याय हुने गरी अगाडि बढेको बताए पनि अन्य मानिसको माध्यमबाट बस्तीमा नै मानसिक तनाव दिइरहेको पीडितहरू बताउँछन् । यता वडाध्यक्ष अकलमान तामाङले भने अघिल्ला वडाध्यक्ष तथा विगतका जनप्रतिनिधिबाट गम्भीर त्रुटि भएको बताउदै वडाले मालपोतबाट कर तिर्न पठाएको प्रक्रिया भने रोकिराखेको बताए ।
समस्या समाधानका लागि प्रतिबद्ध रहेको भन्दै उनले नम्बरी लालपुर्जा देखाउनेसँग सहमति गरेरै समाधान खोज्नुपर्ने बताए । तर पीडितहरू भने कुनै पनि किसिमको वार्ता र सम्झौता जरुरत नभएको अडान लिँदै आएका छन् । जनप्रतिनिधिहरूलाई नै त्यहाँको वास्तविकता थाहा भएको र सोहीअनुसार अडान लिनुपर्ने स्थानीय पीडितहरूको माग छ ।
लालपुर्जा नभएको र भोगचलनका आधारमा व्यक्तिको रहेको उक्त जग्गाकाे कर तिर्न भन्दै एक्कासि अम्बिका श्रेष्ठ आफैँ मालपोत कार्यालयबाट वडामा आएपछि यसकाे रहस्य उजागर भएको थियो ।
ऐलानी जग्गालाई रातारात आफ्नो नाममा बनाएर २४ घरपरिवारलाई उठिबास लगाउन खोज्ने अम्बिका र उनकाे पछाडि जालझेल रच्ने जोकोहीमाथि छानबिन गरिनुपर्ने स्थानीयकाे माग छ ।
अझ अचम्मलाग्दो त कहाँनिर छ भने यी जग्गाहरू २०७८ साल कात्तिक २३ गतेसम्म ऐलानी जग्गाकै रूपमा किनबेच भएको देखिन्छ । कात्तिकमा मात्र सोकी थिङले बद्री राउतलाई १ लाख ३० हजारमा बेचेको देखिएको छ । बर्दिवास नगर क्षेत्रको अव्यवस्थित तथा ऐलानी जग्गा सोहीअनुसार किनबेच हुँदै आएको छ । यसलाई वडा तथा नगरले समेत प्रमाणित गर्दै आएको छ ।
भूमि आयोग महोत्तरीका अध्यक्ष ज्ञानबहादुर गोले यस्तो अवस्थामा धनीपुर्जा देखाउनेहरूलाई कारबाही गर्ने कुनै अधिकार आयोगसँग नरहेको बताउछन् । ‘बरु उहाँहरूले नै सरोकारवाला ठाउँमा उजुरी गर्नुपर्छ,’ उनले भने, ‘मालपोतमा पनि उजुरी दिन मैले सुझाएको छु ।’
यसअघि बर्दिवास वडा नं. १२, ३ र भंगाहा नगरपालिकाको थारुटोलमा यस्तै घटना घटेको थियो । पछिल्लो समय महोत्तरीमा भूमाफियाहरूको चलखेलले सर्वसाधारण प्रताडित बन्दै गएको विभिन्न तथ्यांकले देखाएको छ ।
Comment