काठमाडौँ महानगरले गर्याे निःशुल्क उपचारका लागि ५२ अस्पतालका ३७४ शय्या सुनिश्चित

काठमाडौँ महानगरले गर्याे निःशुल्क उपचारका लागि ५२ अस्पतालका ३७४ शय्या सुनिश्चित

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका ३७४ शय्या सुनिश्चित भएको छ।

निजी अस्पतालले विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य एवं निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने प्रावधानअनुसार ५२ अस्पतालले ३७४ शय्या विपन्न र असायका लागि छुट्याएका हुन्।

महानगरपालिकाको स्वास्थ्य विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार २०८० फागुनमा शुरु भएको यो सेवाबाट अहिलेसम्मा ७० बिरामी लाभान्वित भइसकेका छन्।

यसरी सेवा लिन आउनेमा काठमाडौँ उपत्यकाको भन्दा पनि उपत्यका बाहिरका नागरिक बढी रहेका उनले जानकारी दिए। कानुनी व्यवस्थालाई निजी अस्पतालले अटेर गरेपछि महानगरले निःशुल्क स्वास्थ्य उपचारसम्बन्धी कार्यविधि, २०८० पास गरेर उक्त व्यवस्था कडाइका साथ कार्यान्वयनमा ल्याएको हो।

महानगरले कुन अस्पतालमा शय्या उपलब्ध छ? र कुन सेवा प्राप्त गर्न सकिन्छ? भनेर विस्तृत विवरण अनलाइनबाटै पाउन सकिनेगरी व्यवस्था गरिसकेको छ।

निःशुल्क उपचार सेवा लिएकामध्ये केही निको भएर घर फर्किसकेका छन् भने केही उपचाररत रहेको महानगरले जानकारी दिएको छ। यसरी सेवा लिनेमा नाक, कान, घाँटी र मिर्गौलाका बिरामी बढी छन्। त्यस्तै दम, क्षयरोग छाती र आँखासम्बन्धी सेवा लिएका बिरामी रहेको पनि श्रेष्ठले जानकारी दिए।

उपचार लिनका लागि समस्या भए वा थप जानकारी आवश्यक परेमा कामपाको स्वास्थ्य विभागमा वा कामपाको हटलाइन नम्बर ११८० मा सम्पर्क गरेर पनि आवश्यक जानकारी लिन सकिने श्रेष्ठले बताए।