काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्यसहित ८ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले असिस्टेन्ट सव–इन्जिनियर विक्रम बुढा, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी, सचिव केवल बुढा, सोरु गाउँ कार्यपालिका सदस्य एवं अनुगमन समिति संयोजक दलवीर सार्की र वडा नं ७ का तत्कालीन अध्यक्ष राजेन्द्र बुमीविरुद्ध मुद्दा दर्ता गरेको छ ।
उनीहरूले आर्थिक वर्ष २०७७/७८ मा मुगुको सोरु गाउँपालिका वडा नं. ७ मा दाक्च–ख्याल्च सडक निर्माण आयोजनामा उपभोक्ता समितिका पदाधिकारी र प्राविधिकसमेतको मिलेमतोमा सडक निर्माण कार्यमा अनियमितता गरेको अख्तियारले दाबी गरेको छ ।
वास्तविकभन्दा कम चौडाइ कायम गरेको, फर्जी प्रतिवेदनका आधारमा भुक्तानी दिएको र निर्माण सम्झौता बमोजिम काम नगरेको अख्तियारले जनाएको छ । अख्तियारले जनही १३ लाख ७२ हजार बिगो कायम गरी कैद र जरिवाना गर्न मागदाबी गरेको छ ।
Comment