लुम्बिनीमा पहिलो पटक स्थानीयसँग कार्यशाला

लुम्बिनीमा पहिलो पटक स्थानीयसँग कार्यशाला

समृद्धि र विकासका लागि स्थानीयसँग सहकार्यमा जोड

समृद्धि र विकासका लागि स्थानीयसँग सहकार्यमा जोड

लुम्बिनी ।

स्थानीयको सहभागिता र सहकार्यबिना लुम्बिनीको विकास र समृद्धि सम्भव नभएको एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।

लुम्बिनीमा पहिलो पटक विकास कोषले आयोजना गरेको स्थानीयसँग लुम्बिनी कार्यक्रम अन्तर्गत समस्या पहिचान सम्भावना र समाधान बिषयक कार्यशाला गोष्ठीमा बोल्ने अधिकांश वक्ताहरूले लुम्बिनीमा स्थानीय सहभागिता आवश्यक रहेको कुरामा जोड दिएका हुन् ।

बुद्धजन्मस्थल लुम्बिनीका स्थानीयसँग सहकार्य र साझेदारी सँगसँगै गर्ने उद्देश्यका साथ गोष्ठीको आयोजना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए । उनले कोष र स्थानीय विच आपसी समन्वय र सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

कोषाध्यक्ष भट्टराईले नीतिगत रुपमा स्थानीय समुदायसँग सहकार्य गरी सँगसँगै अगाडि बढ्नका लागि स्थानीयसँग लुम्बिनी कार्यक्रम राखिएको बताए । उनले लुम्बिनी विकास कोषसँग स्थानीयहरूविच संवाद र छलफल नहुँदा कतिपय बिषयमा एकमत हुन नसकेको भन्दै स्थानीयको समस्या पहिचान गर्ने र समाधान गर्ने गरी स्थानीयसँग लुम्बिनी कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर–उपप्रमुख कल्पना हरिजनले बुद्धजन्मस्थल लुम्बिनीको विकास र समृद्धिका लागि नगरपालिका सहयोग गर्न तयार रहेको तर समन्वय र सहकार्य नहुँदा समस्याहरू देखा परेको बताइन् । उपप्रमुख हरिजनले लुम्बिनी विकास कोषले स्थानीयलाई लाभका कार्यक्रम सँगसँगै सहकार्यात्मक योजना अगाढि बढाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपती प्रा. डा. सुवर्णलाल शाक्यले बुद्धजन्मस्थल लुम्बिनीमा केन्द्रीय क्याम्पस स्थापना गरेर आफुहरूले बौद्धशिक्षा र दर्शनलाई अगाडि बढाउने काम गरेको बताए ।

त्यसैगरि लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्थानीयको समस्यामा आफुहरू संवेदनशिल रहेको बताउँदै समस्याहरूको पहिचान गरी समाधान गर्ने गरी योजना बनाउन कार्यशाला सफल भएको बताए । उनले लुम्बिनी विकास कोषसँग स्थानीयका गुनासाहरू बारम्बार आइरहने भएकाले स्थानीयसँग छलफल गर्न थालिएको बताए ।

गोष्ठीमा लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले लुम्बिनी धार्मिक तथा साँस्कृतिक आश्थाको केन्द्र हुँदाहुदै मायादेबी मन्दिरमा सदिऔंदेखिको परम्परागत पूजापाठमा रोक लगाइएको भन्दै आक्रोश पोखे । उनले भने, ‘स्थानीयसँगको दूरीले लुम्बिनी बिकस कोष बेथितीको अखडा भयो, सहकार्य गरौ, हामी हातेमालो गर्न तयार छौं, त्यसले समृद्धिको पथमा अगाडी बढ्न सहयोग पुग्ने छ ।’

कार्यक्रममा लम्बिनी होटेल संघका अध्यक्ष गोबिन्द ज्ञवाली, पर्यटन ब्यवसायी बिष्णु बस्नेत इ.रामलाल गुप्ता लगायतले लुम्बिनी गुरुयोजना क्षेत्रभित्र मात्रै विकास भएको, स्थानीयहरूसँग सहकार्य र समन्वय नभएको, विकासमा स्थानीय पालिकासँग समन्वय र सहकार्य बढाउनुपर्ने, मायादेवी मन्दिर क्षेत्रमा परम्परादेखि गरिदै आएको पूजाआजालाई सहज बनाउनुपर्ने लगायतका सुझावहरू राख्नु भएको थियो ।

कार्यक्रममा यूएनडिपि गण्डकी लुम्बिनीका निर्देशक सुदीप अर्याल, वन डिभिजन कार्यालय रुपन्देहीका डिभिजन वन अधिकृत प्रभात सापकोटा, लुम्बिनी साँस्कृतिक नगरपालिकाका वडाअध्यक्षहरू, संघसंस्थाका प्रतिनिधि एंव स्थानीय सरोकारवालाहरूले विभिन्न सुझावहरू राखेका थिए ।

कार्यशालाले स्थानीयको समस्या र सुझाव सहितको प्रतिवेदन तयार पार्नका लागि सुदीप अर्यालको संयोजकत्वमा ९ सदस्यीय समन्वय समिती गठन गरेको छ । समितीमा प्रभात सापकोटा, बलबहादुर आचार्य, गंगाराम कहार, रामविकास चौधरी, पुरुषोत्तम अर्याल, सन्तोष गिरी, बब्लु गुप्ता र कमलेश वर्मा रहेका छन् । समितीले समस्या पहिचान गरेपछि अर्को चरणमा फेरी गोष्ठि गरेर कार्ययोजना तयार पारिने कोषले जनाएको छ ।