तराईमा फेरि तातो हावा फैलिने चेतावनी, गर्मी किन यस्तो उखरमाउलो ?

तराईमा फेरि तातो हावा फैलिने चेतावनी, गर्मी किन यस्तो उखरमाउलो ?

काठमाडौं ।

नेपालमा यस वर्षको गर्मीयाममा हालसम्म छैटौँ पटक तातो हावाको चेतावनी जारी गरिएको मौसम अधिकारी तथा विज्ञहरूले बताएका छन्।

केही गरी वर्षा हुने प्रणाली देखा नपरेमा अर्को यस्तै चेतावनी समेत दिनुपर्ने हुन सक्ने उनीहरूको भनाइ छ। यद्यपि दुई सातामा मनसुन भित्रिन सक्ने ठानिएकाले त्यसो भएमा तापक्रम केही घट्न सक्ने उनीहरूले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर भन्छिन्, “यस पटक प्री-मनसुनमा राम्रो वर्षा भएन। पश्चिमी वायुप्रणालीले राम्रोसँग वर्षा गराउन सकेन। त्यही भएर पनि तातो हावाको लहरको चेतावनी धेरै दिनुपर्‍यो।”

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभाग प्रमुख प्राध्यापक दीपक अर्याल गर्मी धेरै भए पनि नेपालकै हालसम्मकै सबैभन्दा उच्च तापक्रम भएको नभई “ताता दिनहरू धेरै रहेको” अवस्थाका रूपमा अर्थ्याउँछन्।

नेपालको हालसम्मकै उच्च तापक्रम ४६.४ डिग्री सेल्सिअस हो, जुन सन् १९९५ को जुन १६ मा धनगढीको मापनकेन्द्रमा रेकर्ड गरिएको थियो।

मौसमविद् प्रतिभा मानन्धर भन्छिन्, “कुनै कुनै वर्ष त हिउँदभरि नै पानी परेर मनसुन कहिले सुरु भयो भन्ने नै थाहा हुँदैन। यस पटक जाडोमा पनि सुक्खा, प्री-मनसुनमा पनि सुक्खा अवस्था देखियो।”

यस वर्षको उच्च एप्रिल २० मा भैरहवाको मापनकेन्द्रमा ४३.६ डिग्री सेल्सिअस तापक्रम रेकर्ड गरिएको छ।

मौसमसम्बन्धी अधिकारीहरूले कम्तीमा दुईवटा मापनकेन्द्रमा लगातार दुई दिनदेखि कम्तीमा ४० डिग्री सेल्सिअस तापक्रम देखिँदा त्यस आसपासका क्षेत्रलाई तातो हावाको उच्च सतर्कता घोषणा गर्ने गरेको बताउँछन्। बीबीसी