कपिलवस्तुको पुरातात्विक अन्वेषण, संरक्षण र विकासका लागि बृहत् गोष्ठीको प्रस्ताव

कपिलवस्तुको पुरातात्विक अन्वेषण, संरक्षण र विकासका लागि बृहत् गोष्ठीको प्रस्ताव

लुम्बिनी ।

प्राचीन कपिलवस्तुको पुरातात्विक क्षेत्रको अन्वेषण, उत्खनन, संरक्षण तथा विकासका लागि बृहत गोष्ठी गर्नुपर्ने प्रस्ताव गरिएको छ । २५६८औँ बुद्ध जयन्तीको अवसरमा प्राचीन कपिलवस्तुको तिलौराकोटमा शुक्रबार आयोजित बुद्ध जयन्ती तथा प्रसूति उत्सव समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले सबै सरोकारवालाबीच एकै ठाउँमा बसेर साझा धारणा र बुझाइका लागि बृहत् गोष्ठीको प्रस्ताव गरेका हुन् ।

उपाध्यक्ष डा. लामाको प्रस्तावमा समारोहका प्रमुख अतिथि राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले समर्थन जनाउँदै अब सबै पक्ष बसेर कपिलवस्तुको पुरातात्विक अन्वेषण, संरक्षण र विकासका लागि साझा दृष्टिकोण बनाउनुपर्ने बताइन् । उनले लुम्बिनी विकास कोषले कपिलवस्तुलाई उपेक्षा गरेको गुनासो धेरै हुने तर यसको समस्याबारे एकै ठाउँमा बसेर छलफल गर्दा त्यसले परिणाम ल्याउन सहयोग गर्ने धारणा राखिन् ।

‘मन्त्रीदेखि सांसदसम्मले गुनासो गरेका छौँ, खासमा बुद्धको गृहनगर कपिलवस्तु ओझेलमा किन छ ? यसबारेमा जनप्रतिनिधि, स्थानीय सबै जागरुक बनौँ,’ उपाध्यक्ष घिमिरेले भनिन् ।

बुद्ध जयन्तीको भोलिपल्ट लुम्बिनीबाट तिलौराकोट दरबार ल्याइएको शिशु बुद्धलाई स्वागतपछि लुम्बिनी विकास कोषको आयोजना तथा कपिलवस्तु नगरपालिकाको सहयोगमा तिलौराकोट दरबारमा प्रसूति उत्सवका रूपमा कार्यक्रम गरिएको थियो । कार्यक्रमलाई भव्य बनाउन कपिलवस्तुबासीले समेत बुद्ध जयन्तीलाई महत्व दिनुपर्नेमा उपाध्यक्ष घिमिरेले जोड दिए ।

कोषका उपाध्यक्ष डा. लामाले नियुक्त भएदेखि नै बुद्धको गृह नगरलाई व्यवस्थित र १ करोडभन्दा बढी बुद्धिस्टहरूलाई आमन्त्रण गर्ने गरी विकास गर्ने सोच बनाएको समेत बताए । उनले पुरातात्विक स्थल भएकाले कतिपय संरचना बनाउन चाहेर पनि बनाउन नसकेको भन्दै आगामी दिनमा कसरी जाने भन्नका लागि बृहत् गोष्ठी गर्नुपर्ने बताए ।

उनले कपिलवस्तुबाट प्रतिनिधित्व गर्ने मन्त्री, सांसद, पूर्वसांसद, कपिलवस्तुका सम्पूर्ण स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक पार्टीका नेता, पुरातत्व विभाग र विज्ञहरू बसेर कपिलवस्तुलाई विकास गर्नका लागि सार्वजनिक सुनुवाइ गर्न आवश्यक रहेको बताए ।

‘अब गुनासो गर्ने मात्रै होइन, समस्या कहाँ छ, कसले बनाएको छ, त्यसलाई चिर्नका लागि सिंहदरबारमा दबाब दिनुपर्छ,’ उनले भने । उनले आफूहरूले चाहेर मात्रै पुरातात्विक स्थलहरूमा विकास गर्न नसकिने बताए ।

उनले तिलौराकोटलाई कोषले प्राथमिकतामा राखेर काम अघि बढाएको र केही वर्षमै अब तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुने बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री अर्जुनकुमार केसीले बुद्धको गृहनगरको विकासको गति निकै सुस्त भएको भन्दै कोषले ध्यान दिनुपर्ने बताए । उनले विदेशी विश्वविद्यालयको प्रयोगशाला मात्रै कपिलवस्तुलाई नबनाउन आग्रह गर्दै तिलौराकोटमा हुने उत्खननमा नेपाली विज्ञ टोली उत्पादन गरी अघि बढ्न सुझाव समेत दिए ।

लुम्बिनी प्रदेशका सांसद सुधाकर पाण्डेयले लुम्बिनीमा प्रधानमन्त्रीको उपस्थितिमा बुद्ध जयन्ती तामझामका साथ मनाइरहँदा तिलौराकोटमा सामान्य कार्यक्रम गरेर मनाइएको गुनासो पोखे ।

प्रसूति उत्सव कार्यक्रममा प्रदेशका सांसद गिरधारीलाल न्यौपाने, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, बोर्ड सदस्य श्याम रोक्का, विभिन्न स्थानीय तहका वडाध्यक्ष, पत्रकार, विज्ञ र स्थानीयको उपस्थिति थियो ।

प्रत्येक वर्ष लुम्बिनीबाट मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कंदै गर्दाको प्रतीकका रूपमा लुम्बिनीबाट शिशु बुद्व प्राचीन कपिलवस्तुको तिलौराकोट दरबार ल्याउने गरिएको छ ।