चेपाङ समुदायको बिडम्बना : वडा सदस्यसँग सापटी मागेर छोराछोरीको जन्मदर्ता !

चेपाङ समुदायको बिडम्बना : वडा सदस्यसँग सापटी मागेर छोराछोरीको जन्मदर्ता !

हेटौँडा ।

हेटौँडाको विपन्न चेपाङ समुदायका शंकर र दिलमाया प्रजालेले आफूसँग पैसा नभएपछि वडा सदस्यसँग ४०० रुपैयाँ सापटी मागेर ६ जनामध्ये २ सन्तानको जन्मदर्ता गराएका छन् ।

मंगलबार हेटौँडा उपमहानगरपालिकाको १४ नम्बर वडा कार्यालय पुगेका उनीहरूलाई वडाध्यक्ष दीपक खड्काले ‘घटना दर्ता शुल्कमा कुनै छुट नहुने’ बताएपछि वडा सदस्य श्यामकुमार ब्लोनसँग सापटी लिएर जन्मदर्ता गराएका हुन् ।

२० वर्षीय आमोश र १५ वर्षीया सीता प्रजाको जन्मदर्ता बने पनि अझै ४ जनाको जन्मदर्ता बन्न सकेको छैन । आमोश काठमाडौँमा दिदी गीतासँग बस्दै आएका छन् भने सीता स्थानीय दीपज्योति आधारभूत विद्यालयमा ८ कक्षामा अध्ययनरत छिन् ।

२२ वर्षीया गीतासँगै शंकर र दिलमाया र शंकरका छोरा सञ्जोग र अन्य छोरीहरू प्रीति र कृतिको जन्मदर्ता गर्न बाँकी छ । उनीहरूको जन्मदर्ता कहिले बनाउने त ? भन्ने प्रश्नमा शंकरले भने, ‘अहिले सदस्यज्यूले २ जनाको (जन्मदर्ता) गर्न पैसा दिनुभयो । अब अरू ४ जनाको पैसा भएपछि बनाउने ।’यता, वडाध्यक्ष खड्काले भने जन्मदर्ता नै गर्न नसक्नेसम्मको विपन्नता वडामा कसैको पनि नभएको दाबी गरे । आक्रोशित मुद्रामा रहेका खड्काले बरू चेपाङ समुदायका मानिसहरूले आफ्नो कमाइ जाँडरक्सी र अन्य फजुल खर्चमा लगाइरहेको विवादास्पद अभिव्यक्ति दिए ।

घटना के हो ?

बाबुआमाको बिहे दर्ता नभएका कारण हेटौँडा–१४ का चेपाङ दम्पती दिलमाया र शंकरका ६ जना छोराछोरीको जन्मदर्ता बन्न सकेको थिएन । २ छाक हातमुख जोर्न पनि धौधौ हुने चेपाङ दम्पतीले छोराछोरीलाई विद्यालय भर्नासमेत गर्न सकेका छैनन् ।छोराछोरी हुर्किएपछि कामको खोजी गर्दा नागरिकता प्रमाणपत्र खोजिएपछि उनीहरू सन्तानको नागरिकता बनाउन गए । त्यहाँ जाँदा उनीहरूलाई जन्मदर्ता नभई नागरिकता बनाउन नसकिने बताइयो ।

छोराछोरीको जन्मदर्ता बनाउन जाँदा बाबुआमाको बिहे दर्ता खोजियो । जुन उनीहरूसँग थिएन । अनि उनीहरूलाई सुझाइयो– पहिले तपाईंहरूको बिहे दर्ता गर्नुस्, अनि छोराछोरीको जन्मदर्ता बन्छ । बिहे दर्ताका लागि दिलमायाको नागरिकता चाहिने भयो । उनीसँग नागरिकता पनि थिएन । दिलमायाको माइतीतर्फ कसैको पहिचान नहुँदा उनको जन्मदर्ता र नागरिकता बनेन, नागरिकता नभई बिहे दर्ता नबन्ने भयो ।

आफ्नो माइती गाउँ हेटौँडा–१५ को रातोमाटे बताउने दिलमाया उमेर नपुग्दै बिहे गरेर नयाँ बस्ती आएकी हुन् । उनका बुबा आफू सानै हुँदा बेपत्ता भएको र आमाले दोस्रो विवाह गरेका कारण बुबाआमाको नागरिकता ल्याउन समस्या भएको थियो । आमाको जन्मदर्ता नभई नागरिकता नबन्ने, नागरिकता नभई बिहे दर्ता नहुने, बिहे दर्ता नभई छोराछोरीको जन्मदर्ता र नागरिकता नबन्ने भएपछि नेपालमै जन्मे/हुर्केको चेपाङ परिवार अनागरिक बनेको थियो ।

दिलमायाका पति शंकर प्रजाले भने पहिले नै नागरिकता प्रमाणपत्र बनाएका थिए । शंकरको नागरिकता भए पनि छोराछोरीको जन्मदर्ता गर्न बिहे दर्ता अनिवार्य भएकाले उनीहरू बिलखबन्दमा परेका थिए ।

धेरै लामो दौडधुपपछि सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट दिलमायाको नागरिकता प्रमाणपत्र जारी भयो । आमाको नागरिकता बनेपछि आफूहरूको बिहे दर्ता र छोराछोरीको जन्मदर्ता बनाउन उनीहरू मंगलबार वडा कार्यालय पुगेका थिए ।

३५ दिनभित्र व्यक्तिगत घटना दर्ता निःशुल्क भए पनि उनीहरूको सो म्यादभित्र नभएका कारण उनीहरूलाई प्रतिघटना २०० रुपैयाँ शुल्क लाग्ने बताइएको थियो । ६ जनाको जन्मदर्ता गराउन उनीहरूसँग सो रकम पनि नभएपछि छुट गरिदिन अनुरोध गरेका थिए । तर, शुल्क छुट नहुने वडाध्यक्षको भनाइपछि उनीहरूले वडा सदस्य ब्लोनसँग सापटी मागेर २ जनाको जन्मदर्ता गराएका हुन् ।यस वडाको नयाँ बस्तीमा प्रजा समुदायको बाहुल्य छ । यो समुदायका अधिकांश नागरिक पिछडिएका र अशिक्षित छन् । विद्यालय जानुपर्ने उमेरका बालबालिका बगरमा बालुवा चाल्ने र ट्याक्टर चलाउन व्यस्त देखिन्छन् । साैर्य दैनिक पत्रिकाबाट