खेलमात्रै हाेइन कुस्ती

खेलमात्रै हाेइन कुस्ती

  • रामविकास चौधरी

लुम्बिनी ।

‘कुस्ती’को जन्म छ, तर व्यवस्थापन छैन,’ पहलमान जोगेन्द्र यादव भन्छन्, ‘परम्परागत रूपमा जरा गाडेको यो खेल आफ्नो ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई खतरामा पार्ने चुनौतीसँग जुधिरहेको छ ।’

सम्मरीमाई–४, रुपन्देहीका पहलमान रामचन्द्र यादव दशकअघिका अखडाहरू देखिन छाडेको बताउँछन् । उनी भन्छन्, ‘आजका युवाहरूमा खेलको सोख छ, तर सरोकारवालासँग संरक्षणको चाहना छैन ।’

पहलमान घनश्याम मिश्र कुस्तीको जीवन्त विगत सम्झिँदै सार्वजनिक चासोमा आएको ह्रासप्रति दुःख व्यक्त गर्छन् । उनी भन्छन्, ‘कुस्तीको सारअनुसार संस्कृतिको ह्रास रोकिनुपर्छ ।’ मिश्रका अनुसार यसले स्वास्थ्य, शक्ति र स्फूर्तिलाई बढावा दिन्छ, आत्मनियन्त्रण र व्यक्तित्व विकासमा पनि लाभ पुर्‍याउँछ ।

कुस्ती एक अनुशासनको खेल हो । यो मानिस–मानिस लडाइँको कला हो । कुस्ती प्रतियोगिता गोलाकार खाडलमा हुन्छ, प्रायः माटोले भरिएको हुन्छ, जसलाई ‘अखडा’ भनिन्छ । ‘अखडाले खेलाडीका लागि प्राकृतिक सतह मात्र प्रदान गर्दैन, अपितु यसले माटो र खेलको सम्बन्धलाई प्रतीकात्मक महत्व राख्छ,’ पहलमान रामकिसुन यादव भन्छन्, ‘यसले आध्यात्मिक र दार्शनिक आयामहरूसँग शारीरिक पराक्रमको मिश्रण गर्छ ।’

कुस्ती खेलाडीलाई पहलमान र यसका प्रशिक्षकलाई ‘उस्ताद’ भनिन्छ । उस्तादले आफ्ना प्रशिक्षार्थी पहलमानलाई निर्देश गर्छन् । यो प्रतियोगितामा समान स्तरका खेलाडीहरूबीच निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्दै, पहलमानहरूलाई विभिन्न तौल वर्गमा वर्गीकृत गरिन्छ । अखडामा देखिने यो अभ्यासले खेलकुदमा नयाँ रणनीति, निष्पक्षताको तत्व थप्नुका साथै अनुशासन र आचारसंहिताको पालनालाई समेट्छ ।

‘कुस्तीले खेलाडीमा शारीरिक र मानसिक सहनशीलताको माग गर्छ । असाधारण सहनशक्ति भएका व्यक्तिहरूलाई आकार दिन्छ । शारीरिक बलको खेती गर्छ । यसमा सहभागीहरूको समग्र फिटनेसमा योगदान पुर्‍याउँछ,’ मायादेवी गाउँपालिका रुपन्देहीका पहलमान नजाबुद्दिन मुसलमान भन्छन्, ‘आफ्नै समृद्ध इतिहास र विविध रूप भएको कुस्ती खेलको कला, शारीरिक र मानसिक विकास खोज्ने ब्यक्तिका लागि प्रेरणाको स्रोत हो ।’

दक्षिण एसियाली राष्ट्रहरूमा कुस्तीको अभ्यास बढी छ । यो खेल प्रायः नेपाल, भारत, श्रीलंका, बंगलादेश, भुटान, पाकिस्तान, अफगानिस्तानलगायत देशमा बढी खेलिन्छ ।

कुस्तीले ती क्षेत्रहरूमा महत्वपूर्ण भूमिका खेल्छ, जहाँ युद्ध र वीरताको महत्व बढी हुन्छ । प्राचीन सभ्यतादेखि खेलिँदै लोकप्रियता प्राप्त गरेको यसको महत्वबारे पुराण, महाभारत र रामायणलगायत धार्मिक तथा साहित्यिक ग्रन्थहरूमा पनि उल्लेख छ ।

अनादिकालमा मानव विकाससँगै कुस्ती खेलको विकास भएको अन्तर्राष्ट्रिय ख्याति प्राप्त पहलमान केशव दासको बुझाइ छ । यो खेल देशको प्रतिष्ठासँग जोडिएको र मानिसको स्वास्थ्यसँग गाँसिएको विषय भएको उनको भनाइ छ ।

उनका अनुसार, ‘युद्ध र वीरताको पर्याय नेपालमा परम्परागत र सांस्कृतिक रूपमा मूल्यवान् कुस्ती यहाँको गौरवपूर्ण साझा संस्कृति, आपसी सद्भाव, रणनीतिक संघर्ष र राष्ट्रिय एकताको प्रतीक हो ।’

नवलपरासी जिल्ला घर भएका केशव दास शारीरिक स्वास्थ्य, आत्माको निपुणता र सामाजिक तथा सांस्कृतिक मूल्यहरूमा योगदानका लागि कुस्तीको वकालत गर्छन् । यसको व्यवस्थापन र जनचेतनाको भूमिकामा जोड दिँदै निर्णायक भूमिका खेल्न सरकारलाई उनको आग्रह छ । उनले कालाजंग, धोबी पछाड, मच्छीगोता, सांडीतोड, निकाल, टांगी, बगलडुव र गदालेट दाउ कुस्तीका प्रमुख कला भएको बताए ।

कुस्तीलाई दयानन्द सरस्वती, स्वामी विवेकानन्द, र अन्य योगीहरूले शारीरिक स्वास्थ्य, आत्माको प्रभुत्व र सामाजिक तथा सांस्कृतिक मूल्यहरूको एक हिस्सा बताएका छन् । कुस्तीको शाब्दिक विवरण पुरातात्विक तथा पौराणिक शास्त्र, खासगरी ग्रिक तथा संस्कृत महाकाव्यबाट सुरु हुन्छ । रामायणमा रावण–सुग्रिव, महाभारतमा भीमसेन–जरासन्ध तथा विभिन्न बलशाली पहलमानहरूबीचको मुठभेडको वर्णन गरिएको छ ।

कोटहीमाई–३, रुपन्देही घर भई लुम्बिनी प्रदेश ‘मुख्यमन्त्री स्वयंसेवक कार्यक्रम’का कुस्ती प्रशिक्षक राजेन्द्र यादव परम्परागत खेलको पुनरुत्थानका लागि साझा प्रयासको आवश्यकतामा जोड दिन्छन् । ‘सिद्धार्थ भीम पुरस्कार २०५७’ का विजेता यादवले नेपालमा कुस्तीको प्रतीक मानिने सांस्कृतिक र राष्ट्रिय एकताको संरक्षणको महत्वलाई जोड दिँदै हाल १२ जना खेलाडीलाई आफ्नै गाउँ पर्सियामा प्रशिक्षण दिइरहेका छन् ।

पहलमान तथा प्रशिक्षक यादव भन्छन्, ‘मानवको शक्ति प्रदर्शन गर्ने कुस्तीको खेल त्यो युगमा सुरु भएको हो, जब मानिसलाई हतियारको प्रयोगबारे थाहा थिएन । त्यस समयमा यस प्रकारको युद्धमा क्रूर बल हावी थियो ।’ उनका अनुसार पशुलगायत अन्य शक्तिलाई जित्नका लागि त्यस समयमा मानिसले विभिन्न प्रकारका युक्तिहरू प्रयोग गर्न सिकेको हुनुपर्छ र त्यसैबाट ‘कुस्ती’ वा ‘मल्लयुद्ध’ खेलको विकास भएको हुनुपर्छ ।

बहरल्ली, भितरल्ली, तुतवा, इरानी, मुल्तानी, भालुकस, बांगुडु, चपरास, अन्टी, सखी, रामबाण, एकहरीपट, दोहरीपट, सन् दुई हजार, खेमे, भरन्दाज, रुम, गुड, महाउती, साल्तो, बैगसाल्तो गुठ्ठी, दाउपेचबारे बताउँदै प्रशिक्षक यादवले छिडकी, तेजाब छिडकी, अकलकाटे पहाण र जुडो पहाण दाँव नेपालमा प्रचलित रहेको बताए । यादवले नेपालमा कम्तीमा एक जिल्ला एक सुविधा सम्पन्न प्रशिक्षण केन्द्र हुनुपर्ने बताउँछन् ।

उनी भन्छन्, ‘नेपालमा कुस्तीका लागि सरकारले खासै पहल गरेको नदेखिए पनि युवाहरूमा कुस्तीप्रतिको रुची बढाउन धेरै पटक कुस्ती प्रतियोगिता आयोजना गरेको छ । यसका लागि प्रशिक्षण केन्द्रहरू पनि छन्, जसले खेलाडीहरूलाई विशेषज्ञता र प्रविधिमा तालिम दिने काम गरिन्छ ।’

उनका अनुसार २०२८ पुस १४ देखि २०५७ सम्म बर्सेनि सिद्धार्थनगर नगरपालिकाले ‘सिद्धार्थ भीम पुरस्कार’को आयोजना गर्ने गथ्र्यो । तत्कालीन राजा वीरेन्द्रको जन्मदिवस पुस १४ गतेको अवसरमा आयोजना हुने राष्ट्रिय स्तरको कुस्ती प्रतियोगितामा नेपाल र भारतलगायत अन्य देशका खेलाडीको सहभागिता हुने गर्दथ्यो ।

पुरस्कारका लागि पहलमानले लगातार ३ वर्ष दंगलमा प्रथम स्थान ल्याउनैपर्ने नियम थियो । पछिल्लो पटक पहलमान राजेन्द्र यादवले २०५५, २०५६ र २०५७ मा लगातार प्रथम स्थान ल्याई पुरस्कार प्राप्त गरेका थिए ।

राजेन्द्रले पुरस्कार पाउनुअघि उनका उस्ताद प्रह्लाद यादव २०५२, २०५३ र २०५४ सालमा लगातार विजयी भएका थिए । २०४९, २०५० र २०५१ सालमा नवलपरासी जिल्ला घर भएका पहलमान रामकिसुन यादवले प्रतियोगिता जितेका थिए । २०५८ जेठ १९ गते दरबार हत्याकाण्डपछि रुपन्देही जिल्लामा सरकारी स्तरबाट कुस्ती प्रतियोगिता नभएको सिद्धार्थनगर नगरपालिकाका सूचना अधिकारी देव ज्ञवाली बताउँछन् ।

हुन त तराई–मधेसका विभिन्न स्थानमा कुस्ती प्रतियोगिताहरू अझै पनि प्रचलनमा छन् । नहान मेलाको अवसरमा रुपन्देहीको सतियामाई स्थान र जोगियाबारी मेलामा कुस्ती दंगलको आयोजना हुने गरेको देखिन्छ । प्रतियोगिता स्थानीय स्तरको भए पनि नेपाल र भारत २ देशका खेलाडीहरूलाई सहभागी गराइन्छ । तर, पारिश्रमिक, पुरस्कार र खानपानको व्यवस्थापनमा कमीका कारण युवाहरूमा यो खेलप्रतिको रुची घट्दै गएको देखिन्छ ।

‘शारीरिक स्फूर्तिका कारण पहिला कुस्ती र पहलमानहरूको सामाजिक प्रतिष्ठा धेरै थियो, जसले निजी सुरक्षाकर्मी आवश्यक पर्दा पहलमानहरूलाई नै उपयुक्त मानिन्थ्यो,’ लुम्बिनी प्रदेशका पूर्व शिक्षा तथा खेलकुद विकासमन्त्री बसिउद्दिन खाँले भने, ‘समयसँगै यो खेल र पहलमानको संख्या ओरालो लाग्दै छ । मेलाको बेला आयोजकले दिने पुरस्कारको सीमित रकम र दर्शकबाट प्राप्त हुने बक्सिस बाहेक आम्दानीको अर्को स्रोत छैन ।’

लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताका अनुसार पारम्परिक खेलहरू मनोरञ्जनका माध्यम मात्र नभई सामुदायिक संवादका मञ्च पनि थिए । यी खेलभित्र हाम्रो समाजको सांस्कृतिक समभाव पनि भएकाले कुस्ती ब्युँताउनु जरूरी छ । उनले भने, ‘कुस्तीप्रति युवाको आकर्षण बढाउन प्रदेश सरकारले काम गर्न लागेको छ । राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगिताका निम्ति खेलाडी उत्पादन हुन सक्छ भन्ने विश्वास छ ।’