लुम्बिनी ।
लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायको आयोजनामा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी लुम्बिनीमा सुरु भएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयको सभा हलमा आयोजित २ दिने गोष्ठीको उद्घाटन गर्दै ताइवानका भिक्षु मास्टर हुइ गांगले विश्वमा बौद्ध शिक्षाको महत्व बढ्दै गएको बताए । उनले बुद्धको शिक्षालाई आत्मसात् गर्न सके जस्तोसुकै कठिनाइ पार गर्न सकिने बताए ।
गोष्ठीमा बोल्दै विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरूले विश्वमा व्याप्त हुँदै गइरहेको प्राकृतिक असन्तुलन, वैमनश्यता र बेमेलको अन्त्यका लागि बौद्ध शिक्षालाई जीवनोपयोगी बनाउने गरी प्रवद्र्धनमा प्राथमिकता दिनुपर्ने बताए ।
राष्ट्र तथा व्यक्तिहरूबीचमा असमझदारी, पर्यावरणीय हानिनोक्सानी, युद्ध तथा अपराधको बढ्दो ग्राफ न्यूनीकरण गर्न बुद्धका उपदेशहरूको परिपालना महत्वपूर्ण कडी हुने भन्दै विज्ञहरूले बौद्ध शिक्षालाई विश्वव्यापी बनाउनुपर्नेमा जोड दिए । बौद्ध शिक्षाबाटै अहिलेका विश्वव्यापी समस्याहरूको समाधान खोजिनुपर्ने विज्ञहरूले उल्लेख गरे ।
शनिबार लुम्बिनीमा सुरु भएको ‘विश्वव्यापी चुनौतीहरूको समाधान सन्दर्भमा बौद्ध शिक्षाको सान्दर्भिकता’ विषयक अन्तर्राष्ट्रिय सेमिनारमा बोल्दै विज्ञहरूले बुद्धका शिक्षाको परिपालनाले मानवीय व्यवहारहरू परिवर्तन हुने बताएका हुन् ।
वातावरणीय असन्तुलन, व्यापारिक प्रतिस्पर्धा, बढ्दो तापक्रम, नयाँ–नयाँ संक्रमणकालीन व्याधि तथा युद्ध अपराधजस्ता विश्वव्यापी समस्याको समाधान बौद्ध दर्शनमा रहेको भन्दै त्यसको खोजी अपरिहार्य रहेको विज्ञहरूले बताए ।
थाइल्यान्डका प्रा.डा. भिक्षु सुगन्ध (अनिल शाक्य) ले व्यक्तिको जीवनलाई सकारात्मक दिशातर्फ लैजान बुद्धको शिक्षा अनिवार्य रहेको बताए । विश्वमा मैत्री, करुणा र शान्ति कायम गर्न बुद्धको शिक्षा महत्वपूर्ण हुने बताउँदै यस्ता गोष्ठीले यसलाई सघाउ पु¥याउने उनले बताए ।
त्यस्तै, राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले बौद्ध शिक्षालाई व्यावहारिक रूपमा उपयोग हुने गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताए । विश्वमा झन्डै १ अर्ब बौद्ध अनुयायी रहेको भन्दै उनीहरूलाई जोड्दै बौद्ध शिक्षाको प्रवद्र्धन गर्दा शान्ति र बन्धुत्वको विकास बढ्दै जाने बताए । नेपालका शैक्षिक योजनाहरूमा बौद्ध शिक्षालाई जोडिने उनको भनाइ थियो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्राचार्यले बौद्ध शिक्षाको प्रसारमा अन्तर्दृष्टि र दृष्टिकोण साझा गर्न, शैक्षिक र सांस्कृतिक मूल्य मान्यता आदानप्रदान गर्न र बौद्ध मूल्यहरूको विश्वव्यापी प्रवद्र्धनमा योगदान पु¥याउन गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
बौद्धिक विकास मात्र नभई व्यक्तिमा आवश्यक जीवन सीपको विकास गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताउँदै उनले अन्तर्राष्ट्रिय सेमिनार एक उत्कृष्ट सफलता, सहयोगलाई बढावा दिने, नवप्रवर्तनलाई प्रेरणा दिने र समग्र मानवताको उन्नतिमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्यले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षालाई व्यावहारिक जीवनमा प्रयोग गर्न आवश्यक रहेको बताए । ‘बुद्ध शिक्षाका बारेमा धेरैलाई थाहा छ । तर, व्यवहारमा उतार्ने थोरै छन् । त्यसैले यो शिक्षालाई व्यवहारमा उतार्नेतर्फ सबैले ध्यान दिनुपर्छ,’ उनले भने ।
गोष्ठीको उद्घाटन कार्यक्रममा मास्टर इनसुनको प्रतिनिधिका रूपमा चाइनिज भन्ते दावजिन, जापानका कोहजी ओहकुरा, म्यानमारका भिक्षु शोभित, मंंगोलियाका सेन नेगुई, नेपालका खाङसोर रिम्पोछेलगायतले शुभकामना दिँदै बौद्ध शिक्षा जीवनका लागि नभई नहुने व्यावहारिक ज्ञान भएकाले यसको पालना गर्न सबैलाई आग्रह गरे ।
विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षाको सान्दर्भिकता विषयक गोष्ठीमा आज विभिन्न देशका १४ जना अनुसन्धानकर्ता तथा विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।
गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै स्टोनियाका डा. शोभित शाक्य, बंगलादेशका प्रा.डा. बिजोय बरुवा, म्यानमारका भिक्षु विनय नन्दले बौद्ध शिक्षा र सुशासनलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा चर्चा गरे ।
श्रीलंकाका डा. सचिनी हन्सिका, संसारकै सुखी व्यक्ति फ्रान्सका म्याथु रिकार्डले सुख, शान्ति र अहिंसाका लागि बुद्धको शिक्षा र उपदेशलाई जीवनमा कार्यान्वयन गर्नु जरुरी रहेकामा जोड दिए ।
भारतका प्रा.डा. उदय कुमार, म्यानमारका प्रा.डा. सटट सान्दार, ताइवानका प्रा.डा. कृष्टि चाङ, म्यानमारका भिक्षु बुद्धघोष, पोर्चुगलका डा. सोनिया गोम्सलगायतले बुद्ध शिक्षाले नैतिक रूपमा उत्तरदायी बनाउने भएकाले यसलाई अँगाल्न आवश्यक रहेको बताए ।
गोष्ठीमा साहित्यकार सोनु गुरुङ, मोहनसिंह गुरुङ, भिक्षु क्याल्सनलगायतले कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।
अहिले विश्वभरका मानिसहरू वातावरणीय संकट, ग्लोबल वार्मिङ, पारिस्थितिकीय असन्तुलन र शारीरिक तथा मनोवैज्ञानिक रोगजस्ता विभिन्न प्रकारका समस्याबाट गुज्रिरहेको अवस्थामा बुद्धको जन्मस्थलबाट विशेष गरी बुद्ध शिक्षाको सान्दर्भिकता खोज्नुपर्ने आवश्यकता देखिएकाले गोष्ठीको आयोजना गरिएको हो ।
गोष्ठीमा नेपालसहित थाइल्यान्ड, फ्रान्स, स्टोनिया, म्यानमार, जापान, बंगलादेश, भारत, ताइवान, श्रीलंका, पोर्चुगल, नर्वेलगायत विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरूको सहभागिता छ ।
गोष्ठीमा आइतबार बौद्ध दर्शन र योगका विषयमा छलफल हुनेछ । जसमा आचार्य बालकृष्ण, डा. चिन्तामणि योगी, भानु शर्मा, प्रा.डा. विशाल सिटौला, प्रा.डा. क्षितिज बराकोटी र डा. विकासानन्दले बौद्ध दर्शन र योगका विषयमा कार्यपत्र प्रस्तुत गर्ने र कार्यपत्रमाथि छलफल गर्ने कार्यक्रम छ ।
Comment