विश्वका अर्बपतिहरुको नयाँ सूची : विनोद चौधरी १७ सय ६४ औं स्थानमा

विश्वका अर्बपतिहरुको नयाँ सूची : विनोद चौधरी १७ सय ६४ औं स्थानमा

काठमाडौं ।

अमेरिकामा प्रकाशित हुने प्रसिद्ध फोर्ब्स पत्रिकाले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ। सूची अनुसार विश्वमा अर्बपतिहरुको संख्या अहिलेसम्मकै धेरै अर्थात् २ हजार ७८१ जना पुगेको छ । गत वर्षको तुलनामा यो संख्या १ सय ४१ जना धेरै हो।

साथै यसअघिको सर्वाधिक संख्या सन् २०२१ को भन्दा २६ ले बढी हो । विश्वका डलर अर्बपतिहरुको कूल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ । यो गत वर्षको भन्दा २ ट्रिलियन धेरै हो भने सन् २०२१ के भन्दा १.१ ट्रिलियन धेरै हो।

शीर्ष २० जना अर्बपतिहरुको सम्पत्ति सबैभन्दा धेरै बढेको छ । गत वर्ष भन्दा उनीहरुको कूल सम्पत्तिमा ७ खर्ब डलर वृद्धि भएको छ । नयाँ सूची अनुसार सर्वाधिक अर्बपति भएको देशका रुपमा अमेरिका पहिलो स्थानमा कायमै छ । अमेरिकामा अर्बपतिहरुको संख्या ८ सय १३ जना रहेको छ । दोस्रो स्थानमा रहेको चीनमा ४ सय ७३ जना अर्बपति छन्।

त्यस्तै तेस्रो स्थानमा रहेको भारतमा अर्बपतिको संख्या कीर्तिमानी २ सय जना पुगेको छ । फोर्ब्सले गत मार्च ८ को शेयर मूल्य तथा विनिमयदरको आधारमा अर्बपतिहरुको सम्पत्ति गणना गरेको हो । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी १७ सय ६४ औं स्थानमा परेका छन् । चौधरीको कूल १ अर्ब ८ करोड अमेरिकी डलर सम्पत्ति रहेको छ । गत वर्ष चौधरी १ हजार ६ सय ४७ औं स्थानमा थिए । यद्यपि उनको कूल सम्पत्ति भने गत वर्षको भन्दा घटबढ भएको छैन ।

विश्वका शीर्ष २० अर्बपति यी हुन् :

१) बर्ना आर्नो स् लुई भिटन तथा सेफोरा लगायतका फेसन तथा कस्मेटिक ब्राण्डका मालिक बर्ना आर्नो यो वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्तिको रुपमा कायमै रहेका छन् । यी फ्रेन्च अर्बपतिको सम्पत्ति २ खर्ब ३३ अर्ब डलर छ ।

२) एलन मस्क: एक्स, स्पेस एक्स तथा टेस्लाका मालिक एलन मस्कको कूल सम्पत्ति १ खर्ब ९५ अर्ब छ ।

३) जेफ बेजोस: अमेजनका संस्थापक बेजोसको सम्पत्ति १ खर्ब ९४ अर्ब डलर छ ।

४) मार्क जुकरबर्ग : फेसबुकका संस्थापक जुकरबर्गको सम्पत्ति १ खर्ब ७७ अर्ब छ ।

५) ल्यारी इलिसन : ओरेकलका संस्थापक इलिसनको कूल सम्पत्ति १ खर्ब ४१ अर्ब छ ।

६) वारेन बफेट: वित्त तथा लगानी क्षेत्रका टाइकुन वारेन बफेटको सम्पत्ति १ खर्ब ३३ अर्ब डलर छ ।

७) बिल गेट्स : माइक्रोसफ्टका संस्थापक बिल गेट्सको कूल सम्पत्ति १ खर्ब २८ अर्ब डलर छ ।

८) स्टिभ बाल्मर : माइक्रोसफ्टका पूर्व सिइओ बाल्मरको कूल सम्पत्ति १ खर्ब २१ अर्ब डलर छ ।

९) मुकेश अम्बानी : टपटेन अर्बपति भित्र पर्न सफल भारतीय उद्यमी अम्बानी एसियाका सबैभन्दा धनी व्यक्ति पनि हुन् । रिलायन्स कम्पनीका मालिक समेत रहेका उनको सम्पत्ति १ खर्ब १६ अर्ब डलर छ ।

१०) ल्यारी पेज : गुगलका संस्थापक ल्यारी पेजको कूल सम्पत्ति १ खर्ब १४ अर्ब डलर रहेको छ ।

११) सर्गेइ ब्रिन : गुगलका सह संस्थापक रहेका ब्रिनको कूल सम्पत्ति १ खर्ब १० अर्ब डलर छ ।

१२) माइकल ब्लुम्बर्ग: वित्त तथा लगानी क्षेत्रका अर्बपति ब्लुम्बर्गको कूल सम्पत्ति १ खर्ब ६अर्ब डलर रहेको छ ।

१३) अमान्सियो ओर्टेगा : स्पेनका फेसन तथा रिटेल क्षेत्रका अबृपति ओर्टेगाको कूल सम्पत्ति १ खर्ब ३ अर्ब डलर छ ।

१४) कार्लोस स्लिम हेलु : ल्याटिन अमेरिका क्षेत्रको सबैभन्दा ठूलो टेलिकम कम्पनी अमेरिका मोविलका मालिक रहेका मेक्सिकन अर्बपति कार्लोस स्लिम हेलुको कूल सम्पत्ति १ खर्ब २ अर्ब डलर छ ।

१५) फ्रान्कोइस बेटेनकोर्ट मेयेर्स : एल ओरियल ब्राण्डका मालिक रहेका फ्रेन्च अर्बपति मेयेर्सको सम्पत्ति ९९ अर्ब ५० करोड डलर छ ।

१६) माइकल डेल : डेल टेक्नोलोजी कम्पनीका अध्यक्ष तथा सीईओ रहेका माइकल डेलको सम्पत्ति
९१ अर्ब डलर छ।

१७) गौतम अडानी : भारतीय अर्बपति गौतम अडानी चर्चित अडानी ग्रुपका अध्यक्ष हुन् । उनको कूल सम्पत्ति ८४ अर्ब डलर छ ।

१८) जिम वाल्टन: फेसन तथा रिटेल क्षेत्रका अर्बपति वाल्टनको कूल सम्पत्ति ७८ अर्ब ४० करोड डलर छ ।

१९) रब वाल्टन : वालमार्टका संस्थापक साम वाल्टनका जेठा छोरा रब वाल्टनको कूल सम्पत्ति ७७ अर्ब ४० करोड डलर छ ।

२०) जेन्सेन हुआंग : ग्राफिक्स चिप मेकर कम्पनी एनभिडियाका संस्थापक तथा सीईओ रहेका जेन्सेनको कूल सम्पत्ति ७७ अर्ब डलर छ ।