मोरियामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु, एक बालिका मात्रै जिवित फेला

मोरियामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु, एक बालिका मात्रै जिवित फेला

गाबारोना ।
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ।

बोत्स्वानाको राजधानी गाबारोनाबाट दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तस्थित मोरिया जाँदै गरेको बस बिहीबार दिउँसो जोहानेसबर्गभन्दा ३ सय किलोमिटर वर रहेको एमममत्लाकाला पुलबाट खसेको समाचार संस्था एशोसियट प्रेसले जनाएको छ।

पुलको बारमा ठोक्किएर ५० मिटर तल खसेपछि बसमा आगो लागेको थियो। आगलागीबाट बस पूर्ण ध्वस्त भएको थियो।

दुर्घटनाबाट बसमा सवार ४५ जनाको घटनास्थलमै मृत्यु भएको हो। उनीहरू इस्टर पर्व मनाउन मोरिया जाँदै थिए।

बसमा सवार ८ वर्षीया बालिका मात्रै जिवित भेटिएकी छन्। उनको स्वास्थ्य अत्यन्त गम्भीर रहेको र उपचार भइरहेको प्रान्तीय सरकारले जनाएको छ।

बिहीबार दिउँसो दुर्घटना भएको बसमा राति अबेरसम्म उद्धारकार्य चलेको थियो।लिम्पोपोकी यातायात मन्त्री सिन्दसिवे छिकुंगा पनि घटनास्थल पुगेकी थिइन्।

अझैपनि बसमा केही यात्रुहरू च्यापिएको हुनसक्ने उद्धारमा खटिएका अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

पुलमा पुगेपछि चालकले नियन्त्रण गुमाएपछि बस पुलबाट खसेको अनुसन्धान खटिएका अधिकारीहरूले बताएका छन्।