४ सय रुपैयाँको निहुँमा चक्कुले हानेर श्रीमतीको हत्या

४ सय रुपैयाँको निहुँमा चक्कुले हानेर श्रीमतीको हत्या

बाँके ।

बाँकेमा चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वडा नम्बर ४ मदा घर भइ बाँकेको कोहलपुर नगरपालिका–१४ पावर्बतीपुरमा बस्दै आएका २२ वर्षीय अनिल विश्वकर्मा श्रीमती २१ वर्षीया सुशिला सुनारको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार श्रीमान् श्रीमतीका बीचमा विवाद हुँदा अनिलले श्रीमती सुशीलालाई सोमबार राति ढाडमा चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारपछि घाइते श्रीमतीको उपचारका लागि अनिल आफैंले राति नै सुशीलालाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्‍याएका थिए।

तर त्यहाँ पुर्‍याउना साथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यसपछि श्रीमतीको हत्या आरोपी अनिललाई प्रहरीले पक्राउ गरेको थियो।

‘घाइतेको मृत्यु भइसकेपछि हामीलाई अस्पतालबाट राति १ बजेतिर खबर आएको थियो,’ इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले भने, ‘त्यसपछि हामीले हत्या आरोपितलाई अस्पतालमै गइ नियन्त्रणमा लिएका हौं।’

प्रहरी निरीक्षक भट्टराइका अनुसार अनिल र सुशस्लाले पाँच महिना पहिलेमात्रै विवाह गरेका थिए।

विवाहपछि उनीहरू कोहलपुर– १४ स्थित पार्वतीपुरको बागेश्वरी हिम पाइप उद्योगमा बसेर काम गर्दै आएका थिए। सुशीलाको हत्या उद्योगभित्रैको क्वाटरमा भएको थियो ।

अनिल र सुशीलाका बीचमा चार सय रुपैयाँको निहुँमा झगडा भएको थियो।

होलीको समयमा अनिलले श्रीमती सुशीलालाई बर्दियास्थित घर जान भनेका थिए।

श्रीमती नमानेपछि उनी एक्लै घर गएका दिए।

‘कोठामा आएपछि श्रीमती सुशीलाले मेरो पैसा लगेर किन घरमा आफन्त भेट्न गएको? मलाई मेरो पैसा अहिले नै देऊ भन्दै झगडा सुरू गरेकी थिइन्,’ अनिलको बयान उद्धृत गर्दै प्रहरी निरीक्षक भट्टराइले भने ‘पैसा भोलि बिहान दिउँला भन्दा पनि नमानेपछि मैले आवेगमा आएर चक्कुले ढाडमा हान्न पुगेछु!’

चक्कु प्रहारबाट गम्भीर घाइते सुशीलाको समयमै अस्पताल नपुर्‍याउँदा अत्यधिक रक्तस्राव कारण मृत्यु भएको भन्ने जानकारी अस्पतालले दिएको प्रहरी निरीक्षक भट्टराइले बताए ।

घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।