कपिलवस्तुमा निग्रोधाराम उत्सव

कपिलवस्तुमा निग्रोधाराम उत्सव

लुम्बिनी।

ऐतिहासिक तथा पुरातात्विक बुद्धस्थलमा निग्रोधाराम उत्सव मनाइएको छ । बौद्ध धर्मावलम्बीको आस्था र महत्वपूर्ण स्थल निग्रोधारामको पवित्रता उजागर गरी पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले उत्सव गरिएको हो ।

गच्छामी मिडिया ग्रुप र रेडियो टुरिजमद्वारा आयोजित उत्सवमा प्रमुख अतिथि श्रीलंकाली राजदूत सुदर्शना पथिरानाले यो पवित्र स्थलको धार्मिक र ऐतिहासिक महत्व श्रीलंकामा निक्कै मानिने हुँदा यहाँ आएर माटो छुन पाउँदा आफू भाग्नमानी भएको बताए ।

यो ठाउँको विकासमा सबै लागेर बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउनु पर्ने उनकाे भनाइ थियाे । यसकाे विकासका लगि आफू र श्रीलंकाली सरकार सहयोग गर्न तयार रहेको उनले बताए ।

कार्यक्रममा भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायले सबैलाई दया, माया करुणा र आस्था जगाउने ठाउका रूपमा निग्रोधाराम रहेकाले बौद्ध धर्मावलम्बीका लागि एउटा छुट्टै महत्व बोकेको बताए ।

थेरबाद र महायानी परम्पराअनुसार भिक्षु, लामा गुरुले च्यान्टिङ गरी उत्सव सुरु गरिएको थियो । उत्सवमा स्थानीय लोक संस्कृति र बाजा बजाइएको थियो । राजकुमार सिद्धार्थले बुद्धत्व प्राप्त गरेपछि पहिलो पटक राजधानी फर्किँदाको अवस्था चित्रण गरी लघु नाटकसमेत प्रर्दशन गरिएको थियो ।

कपिलवस्तु नगरपालिका–२, कुदानस्थित निग्रोधाराममा बुद्धले ज्ञानप्राप्त गरेपछि पहिलो पटक राजधानी कपिलवस्तु आउँदा फागुन पूर्णिमाका दिन मातापितासँग निग्रोधाराममा भेटघाट गरेका थिए । उक्त ऐतिहासिक क्षणको महिमा फैलाउन निग्रोधाराम उत्सव गरिएको हो ।

उत्सवमा मैत्रीभाव र सद्भाव प्रदान गर्न फूल आदान–प्रदान गरिएको थियो । साँझ ७७७ वटा दीप प्रज्ज्वलन गरिएको थियो । होलीको शुभकामना साटासाट गर्दै अबिर रङ पनि लगाइएको थियो ।

श्रीलंकाली राजदूत दम्पतीले पनि अबिर लगाएर खुसी साटासाट गरेका थिए । साँझ शान्तिका लागि ३ वटा फ्लाइङ लालटिन उडाइएको थियो । अवधी संस्कृति बोकेको गोझिया, गुलगुला र नमकिन खाजा खुवाइएको थियो ।

लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाडेकाजीले कपिलवस्तुमा नयाँ पर्यटकीय आकर्षणकाे धेरै सम्भावना भएकाले त्यसलाई उजागर गर्न निग्रोधाराम उत्सव मनाइएको बताए ।

‘बुद्धले बुद्धत्व प्राप्त गरेपछिको यो क्षण विश्वकै लागि महत्वपूर्ण हो,’ पाँडेकाजीले भने, ‘त्यही खुसीको क्षण अनुभूति गर्न उत्सव आयोजना गरिएको हो ।’ बिस्तारै यो नौलो र स्थापित पर्यटकीय गन्तव्य बन्ने उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डे, लुम्बिनी विकास कोषका बोर्ड सदस्य रामनरेशप्रसाद कोहार, कोष परिषद् सदस्य गोपीकृष्ण शर्मा, कोका प्रमुख सूचना अधिकृत डा. हरिध्वज राई, सूचना राजन बस्नेत, गच्छामी मिडिया ग्रुपका अध्यक्ष मनोज श्रीवास्तव र ग्रुपका निर्देशक खगप्रसाद चापागाईले बोलेका थिए ।

 

फोटो प्रदर्शनी

उत्सवकै अवसरमा सम्पदामा धनी कपिलवस्तु विषयक तस्बिर पनि प्रर्दशन गरिएको थियो । बुद्धस्थल तिलौराकोट, गोटिहवा, कन्थक स्तुपा, जगदीशपुर र निग्रोधारामका मनमोहक र रोमाञ्चक तस्बिर प्रर्दशन गरिएको थियो ।

प्रर्दशनीमा तराईका मानवीय जनजीवन, पुरातात्विक स्थलको पृष्ठभूमि र खुला आकाशसँगै देखिएका अन्नपूर्ण प्रथम, धौलागिरी दोस्रो, तेस्रो र चौथौ तथा गुर्जा हिमालका चित्ताकर्षक तस्बिर प्रर्दशनी बुद्धस्थल निग्रोधारामा गरिएको थियो ।

फोटो पत्रकार मनोज पौडेल र बृजेश जयसवालले खिचेका मन छुने र चित्ताकर्षक १९ तस्बिर प्रर्दशनीमा राखिएको थियो । २० बाई ३० इन्च साइजको फोटो फलामको फ्ल्याकमा राखिएको थियो ।

पर्यटन प्रबर्द्धन गर्दै तस्बिर खिच्न अभिप्रेरित गर्न खुला फोटो प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा प्राप्त भएका ६ तस्बिरमध्ये उत्कृष्ट एक तस्बिरलाई पुरस्कार प्रदान गरिएको थियो ।

तौलिहवाका विकास पोखरेलले खिचेको तस्बिरले उत्कृष्ट पुरस्कार प्राप्त गरेको थियो । पोखरेललाई श्रीलंकाली राजदूत सुदर्शना पथिरानाले ३ हजार नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए ।