आगलागीमा परी एकै परिवारका ३ बालबालिकाको मृत्यु, रङ्गेलीमा १९ घर जलेर खरानी

आगलागीमा परी एकै परिवारका ३ बालबालिकाको मृत्यु, रङ्गेलीमा १९ घर जलेर खरानी

भोजपुर

भोजपुरको हतुवागडी गाउँपालिका वडा नम्बर ७ पात्लेपानीमा आगालागि हुँदा एउटै परिवारको ३ जना बालबालिकाको मृत्यु भएको छ।

आगालागिबाट ७ वर्षको छोरी ६ वर्षका छोरा र ३ वर्षीया छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

मृत्यु हुने बालबालिकाको नाम भने खुल्न सकेको छैन।

यस्तै मोरङको रङ्गेली ३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेको इलाका प्रहरी प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ।

आज दिउँसो २ः३० बजेतिर सुरु भएको आगलागी नियन्त्रणमा आइसकेको प्रहरी प्रमुख प्रहरी निरीक्षक बुद्धि चौलागााईँले जानकारी दिए। बाक्लो बस्ती रहेकाले आगलागीका कारण धेरै घरमा क्षति पुगेको उनको भनाइ छ।

उन्नाइस घरधुरीका २५ परिवार आगलागीबाट विस्थापित भएको रङ्गेली नगरपालिका उपप्रमुख गोमा पराजुलीले बताइन्। विस्थापित परिवारलाई स्थानीय सरकारले राहत उपलब्ध गराउन थालिसकेको छ।

कानेपोखरी गाउँपालिका, रङ्गेली, बेलबारी, पथरीशनिश्चरे र सुन्दरहरैँचा नगरपालिका र विराटनगर महानगरका बारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा करिब तीन घण्टापछि आगो निभाउने काम भएको छ। घटनाबाट भएको क्षतिको विवरण भने आइ नसकेको उपप्रमुख पराजुलीले बताइन्।