प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमानी गरे : कांग्रेस

प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमानी गरे : कांग्रेस

काठमाडौं ।

नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासघात गर्दै गठबन्धन भत्काएको निष्कर्ष निकालेको छ।

नयाँ बानेश्वरमा बिहीबार बसेको संसदीय दल बैठकले गठबन्धन तोड्नुपर्नाका कारण भनेर प्रधानमन्त्रीले अगाडि सारेका विषय अत्यन्त काल्पनिक रहेको पनि निष्कर्ष निकालेको हो।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालले विश्वासघात गरेको बताए।

‘प्रधानमन्त्रीले हामीलाई विश्वासघात गर्नुभयो, गठबन्धन भत्काउनुभयो,’ लेखकले भने, ‘तथाकथित कारण देखाएर उहाँले गठबन्धन भत्काउनुभयो, यसलाई हामीले राजनीतिक बेइमानीका रूपमा ठहर गरेका छौं।’

उनकाअनुसार प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय पनि भएको छ। कांग्रेसले ०७९ पुस २६ गतेको निर्णयअनुसार प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो।

यसअघि बूढानिलकण्ठमा बसेको कार्यसम्पादन समिति बैठकले पनि प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

गत सोमबार प्रधानमन्त्री दाहालले कांग्रेससँगको सहकार्य तोडेर नयाँ समीकरण बनाएका थिए। नयाँ समीकरणबाट बुधबार २० सदस्यीय मन्त्रिपरिषद पुनर्गठन पनि भइसकेको छ।