सिंहदरबारमा फोटो फेर्नमै सीमित नहोस् नयाँ समीकरण

सिंहदरबारमा फोटो फेर्नमै सीमित नहोस् नयाँ समीकरण

  • निरोज कोइराला

नेपाली कांग्रेससँग मिलेर सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रले गरेको अर्को निर्णयसँगै त्यो पुरानो नामको गठबन्धन भत्किएको छ । आफैँ टाउकोमा पुग्ने सर्तमा उसले फेरि नेकपा एमालेसहितका दलसँग मिलेर सत्ता सञ्चालन गर्ने भएको छ । नेपाली उखान ‘कहिले सासूको पालो, कहिले बुहारीको’ फेरिएको सत्ता गठवन्धनले चरितार्थ भएको छ ।

नेपालमा एउटै पार्टीको बहुमत आएर ५ वर्ष पूरै सत्ता टिकाउने छाँटकाँट देखिँदैन । त्यसैले कहिले कोसँग कहिल कोसँग मिल्ने, सत्तामा पुग्ने दाउमा राजनीतिक दलहरू दौडिरहेकै हुन्छन् । यसैको परिणाम स्वरुप कांग्रेससँगको गठबन्धन भत्काएर माओवादीले एमालेलगायत दलसँग अर्को गठबन्धन गरेको छ ।

नेपालको सन्दर्भमा यहाँको राजनीतिमा कोही पनि शत्रु र मित्रु छैनन् । आफ्नो पार्टी र व्यक्तिगत स्वार्थ अनुरुप राजनीति चल्ने भएकाले नेपाली जनताले सत्ता समीकरण परिवर्तन हुँदा खुसी र दुःखी हुनुपर्ने कुनै कारण नै देखिँदैन ।

फेरिएको सत्ता समीकरण र छुटेको समीकरणका विषयमा फेसबुके कार्यकर्ताले फेसबुकका भित्ता रंगाउन थालिसकेका छन् । बाँडीचुँडी खानका लागि नेपालका राजनीतिक दलका शीर्ष नेताहरूलाई कसैले सिकाउन जरुरी छैन । कांग्रेसलाई फकाएर सत्ताको नेतृत्व गर्दै एमालेलाई एक्ल्याउन लागिपरेको माओवादी केन्द्र अहिले आफ्नो रूप परिवर्तन गर्दै स्वार्थका लागि फेरि कांग्रेसलाई एक्ल्याउन लागिपरेको छ ।

नेपालमा सत्ताको नेतृत्व तहमा एक्लो पुग्न नसक्दा साना पार्टीले पनि बेलाबेलामा यताउता गर्दै फाइदा लुटिरहेका छन् । बेलाबेला फेरिइरहने सरकार कहिल्यै पनि नेपाली नागरिकको चाहना अनुरुप अगाडि बढ्न सक्दैन । भइरहने सत्ता परिवर्तनले राज्यलाई थप भार पर्ने निश्चित छ । सिंहदरबारमा फोटो झुन्ड्याउन र नामका लागि हुने सत्ता परिवर्तनले आमनागरिकलाई केही फाइदा पुग्दैन ।

दलहरूमा देखिने सत्ता परिवर्तनको सोचले न देशमा विकास र समृद्धि कायम हुन्छ, न त देश छाडेर बाहिर जाने युवाको संख्यामा नै कमी आउँछ । मुलुकमा स्थिर राजनीतिक गतिविधि हुन नसक्दा निराशा पनि जनमानसमा बढ्दो छ ।

त्यसैले आफ्नो पार्टीको सत्ता आउँदा खुसी हुने र अर्काको जाँदा खिसी गर्ने परिपाटी बन्द गरौँ, स्वार्थका लागि गरिने सत्ता समीकरण परिवर्तनका विरुद्धमा एकजुट हुँदै खबरदारी गरौँ । सत्ता परिवर्तन भइरहने खेलले नेपाली जनताको आवश्यकता र इच्छा पूरा हुने कल्पना पनि गर्न सकिँदैन ।