महाेत्तरीका व्यवसायीले किन गरे इलामकाे प्रचार ?

महाेत्तरीका व्यवसायीले किन गरे इलामकाे प्रचार ?

विशाल बस्नेत

महाेत्तरी ।

बुधबार बिहान होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका व्यवसायीहरू इलामको प्रचार कार्ड बोकेर बर्दिवासको पूर्व-पश्चिम राजमार्गमा उभिए ।

इलाम घुम्न जाऔँ भन्ने नारासहित हातमा सन्दुक नगरपालिकाको प्रचार कार्ड बोकेर उभिएका होटल व्यवसायीहरू देख्दा लाग्थ्यो- उनीहरू इलामबाट पर्यटन पवर्द्धन गर्नकै लागि यहाँ आइपुगेका हुन् ।

तर, कन्याम मात्र हाेइन, जिल्लाका धेरै ठाउँ महत्वपूर्ण पर्यटकीय गन्तव्य छन् भन्ने सन्देश बोकेर इलामबाट आएका होटल तथा पर्यटन व्यवसायीहरूसँग भएको जम्काभेट हो यो ।

आफैँ पर्यटनको प्रचूर सम्भावना बोकेर प्रवर्द्धनको पर्खाइमा बसेको बर्दिवासमा अझ यही नगरका स्थानीयले इलामका पर्यटकीय गन्तव्यहरूको प्रचार कार्ड बोकेर सडकमा उभिँदा धेरैलाई अनौठो लाग्नु स्वाभाविक पनि हो । तर यो जम्काभेटले प्रचारप्रसार साझेदारी भने भइरहेको थियो ।

होटल व्यवसायी संघ इलामको आयोजनामा नितान्त प्रचारप्रसार गर्ने उद्देश्यले मेचीदेखि महाकालीसम्मको यात्राबाट आफूहरूलाई सिक्न प्रेरित गरेको महोत्तरीका अध्यक्ष गोपाल कार्कीले बताए ।

होटल व्यवसायी संघ इलामका अध्यक्ष देवीप्रसाद पौडेलले लिम्बू जाति बसोबास गर्ने लारुम्बाको विशिष्ट विशेषताकाे चिनारी गराइरहँदा उद्याेग वाणिज्य संघ बर्दिवासका अध्यक्ष विष्णु खड्काले बर्दिवास पनि पर्यटकीय गन्तव्यका लागि उर्बर रहेको प्रतिक्रिया दिए ।

उनले मध्यपाषाण युगको हतियार कारखाना जस्तो पुरातात्विक पर्यटनका दृष्टिले समेत बर्दिवास मधेसकै महत्वपूर्ण ठाउँ रहेको बताए ।

त्यस्तै होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हिरा गौतमले इलामबाट आएकाहरूलाई प्रचारप्रसार साझेदारी गर्न आग्रह गरे ।

‘इलाममा पुगेर बर्दिवासलगायत मधेसका ठाउँहरूको पनि चर्चा गरिदिनुहोला,’ उनले भने, ‘वास्तवमै धार्मिक, पुरातात्त्विक र सांस्कृतिक हिसाबले मधेस उर्बर ठाउँ हो ।’

तर, नगरको अभिभावकीय जिम्मेवारी बाेकेका नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले बुधबार दिउँसो नै एक कार्यक्रममा दिएको अभिव्यक्ति सुन्दा पर्यटन व्यवसायी र नगरसँग कतै न कतै तालमेल नमिलेको जोकोहीले अनुमान लगाउन सक्थे । नगर प्रमुख क्षेत्रीले पर्यटकलाई जोड्न ताल, फनपार्क बनाउनुपर्ने र त्यसकाे गुरुयोजना अगाडि सारेको बताए ।

बर्दिवासमा मधेसकै अग्ला डाँडाहरूदेखि १० हजार वर्ष पहिलेको मानव सभ्यता र प्राकृतिक रूपमा सिँगारिएका अनेकौँ ठाउँ छन् । यही परिप्रेक्ष्यमा दीर्घकालीन पर्यटन विकासभन्दा पनि मानवनिर्मित फनपार्क बनाएर पर्यटक भित्र्याउने नगर प्रमुखको कल्पनामाथि कार्यक्रममा कतिपयले खिसीट्युरी गरिरहेका थिए ।

‘फनपार्क बनाएर मात्र हाेइन, सिकिम्मको जसरी आन्तरिक र बाह्य पर्यटकलाई प्रकृति बेच्न सक्नुपर्छ, अनि मात्र पर्यटनकाे विकास हुन सक्छ,’ होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले भने ।

नगरमा कृषि पर्यटनका रूपमा विकास गर्न सकिने बर्दिवास मोडेल एग्रो भिलेज समेत अलपत्र परेको छ । अघिल्लो स्थानीय सरकारले देशकै नमुना एकीकृत कृषि फार्मका रूपमा विकास गरी कृषि पर्यटनको महत्वपूर्ण आधार तयार गर्ने उद्देश्यले ८२ बिघा क्षेत्रफलमा बनाइरहेको आधारभूत संरचना अलपत्र परेको हो । जसले स्थानीय सरकारको पर्यटन विकासप्रतिको सोचकाे स्तर पुष्टि गर्ने स्थानीय बताउँछन् ।