रातु नदीको तटीय क्षेत्रमा स्थलगत अन्तर्क्रिया कार्यक्रम

रातु नदीको तटीय क्षेत्रमा स्थलगत अन्तर्क्रिया कार्यक्रम

विशाल बस्नेत

महोत्तरी ।

चुरे दोहनले भूमिगत पानीमा समस्या बन्दै गएको भन्दै अभियन्ताहरूले चुरे क्षेत्रमा स्थलगत अन्तर्क्रिया गरेका छन् ।

अनियन्त्रित दोहनले चुरेको दक्षिणी क्षेत्रमा बसोबास गर्ने मानिसले पानीको चरम समस्या भोगिरहेको र निकट दिनमा थप समस्याबाट प्रताडित बन्नुपर्ने विषयलाई ध्यानाकर्षण गराउने उद्देश्यले चुरेमा अभियन्ताहरूले कार्यक्रम गरेका हुन् ।

महोत्तरीको उत्तरी क्षेत्र रातु नदीको तटीय क्षेत्रमा भएको कार्यक्रममा चुरे नै तराईको पानीको भण्डार भएको र यसकाे रक्षाका लागि पहिले त चुरे क्षेत्रका मानिस सचेत हुनुपर्ने सहभागीहरूले बताए ।

चुरे अभियन्ता सुनिल यादवले दिनानुदिन चुरे अतिक्रमण हुँदै जानु दु:खद् भएको बताए । पैसा कमाउने उद्देश्यले केही मानिसले चुरेलाई व्यापार बनाउँदा समस्या सिर्जना हुँदै गएको उनकाे भनाइ छ ।

संघीय सरकारलाई ध्यानाकर्षण गराउन यसअघि उनले चुरे संरक्षणका लागि ११ दिन लगाएर काठमाडाैँसम्म पैदलयात्रासमेत गरेका थिए ।

बर्दिबास नगरपालिकाले दक्षिणका जनताको भविष्य बोकेको र यही क्षेत्रमा नै अनियन्त्रित दोहन हुनुले भविष्य संकटाेन्मुख बनिरहेको अभियन्ताहरूको भनाइ छ ।

नदी उत्खननका नाममा रातुमा भएको उत्खननलाई लिएर पनि अभियन्ताहरूले चिन्ता व्यक्त गरेका छन् । अहिले रातु नदीमा मापदण्डविपरीत उत्खनन भइरहेको र यसलाई रोक्न सबै एकजुट हुनुपर्ने प्रकृति एवं नदी संरक्षण अधिकार मञ्च महोत्तरीका अध्यक्ष निरोज अधिकारीले बताए ।

भूमिगत पानीमा समस्या मात्र हाेइन, किसानहरू समेत विस्थापित बन्नुपर्ने अवस्था सिर्जना भएकोप्रति अधिकारीको भनाइमा सहमत जनाउँदै बर्दिवासका स्थानीय समाजसेवी शंकर फुयाँलले खोला उत्खनन पनि मुख्य समस्या रहेको औँल्याए ।