काठमाडौँ महानगरले सार्वजनिक स्थलमा भित्ते चित्र बनाउने, सम्पदा चिनाउन क्युआर कोड राख्ने

काठमाडौँ महानगरले सार्वजनिक स्थलमा भित्ते चित्र बनाउने, सम्पदा चिनाउन क्युआर कोड राख्ने

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका सार्वजनिक स्थलको सुन्दरताका लागि भित्ते चित्र बनाउने भएको छ ।

यसका लागि कामपाले ललितकला प्रज्ञा प्रतिष्ठानसँग सम्झौता गरिसकेको छ । पहिलो चरणमा माइतीघरबाट बबरमहलको दायाँतर्फको पर्खाल, प्रदर्शनीमार्गका पर्खाल, अन्तरराष्ट्रिय विमानस्थल बाहिरको पर्खालका साथै मीनभवन र लैनचौरस्थित समाजकल्याण परिषद्को पर्खालमा भित्ते चित्र बनाउनका लागि स्वीकृति दिइसकिएको महानगर सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्यले जानकारी दिए ।

स्वीकृत भएका नमुनाबमोजिम ती स्थानमा प्रतिष्ठानले भित्ते चित्र बनाउने भएको छ । यो काम २०८१ जेठ मसान्तसम्ममा सम्पन्न गरिने प्रमुख शाक्यले जानकारी दिए । भित्ते चित्र बनाउन प्रतिष्ठानले स्थान र क्षेत्रफलसहितको कार्ययोजना पेस गर्नेछ । स्वीकृत कार्ययोजनाका आधारमा काम हुनेछ ।

चित्र बनाउन प्रतिष्ठानले व्यक्ति र संस्थाहरूसँग सम्झौता गरेर काम लगाउन सक्नेछ । यसरी काम लगाउँदा सम्झौता गर्ने, कार्यादेश दिने, मूल्यांकन गर्ने, भुक्तानी दिने, जवाफदेहिता बहन गर्ने दायित्व प्रतिष्ठानकै हुनेछ । यसका लागि महानगरले ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ । सम्झौता भएपछि ६० प्रतिशत र कार्य सम्पन्न भइसकेपछि ४० प्रतिशत प्रदान गरिने बताइएको छ ।

सम्पदा चिनारीका लागि क्युआर कोड
कामपाले नन्दीकेशर मन्दिर, शंकरकीर्ति महाबिहार र नक्साल भगवती मन्दिरको चिनारीसम्बन्धी जानकारी दिन क्युआर कोड राखेको छ ।

‘सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका स्मारक घुम्न आउने आगन्तुकले सजिलै जानकारी पाउन सकून् भनेर वडा कार्यालयले प्रविधिको प्रयोग थालेको हो,’ वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठले भने, ‘अहिले घुम्न आउने जसले पनि स्मार्ट फोन बोकेको हुन्छ । क्युआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास, यससँग सम्बन्ध जोडिएका जात्रा पर्व, सामाजिक तथा धार्मिक संस्कारलगायत विषय जान्न कसैलाई सोध्नु नपरोस् भनेर यस किसिमको व्यवस्था गरिएको हो ।’

क्युआर कोडमा नेपाली, अंग्रेजी, जर्मनी, हिन्दी, फ्रेन्च, चिनियाँ, कोरियाली, स्पेनी, जापानी र अरेबिक गरी १० भाषामा अडियो सुन्न सकिन्छ ।

वडा १ मा ४ वटा प्राचीन ढुंगेधाराका साथै नागपोखरी, हिटीपोखरी, चतुर्भुज नारायण, गोमा गणेश, नन्दीकेशर बगैँचा, हरिहर नारायण (आधा विष्णु आधा शिव), साई केन्द्र, सोराहिटी, जमल बिहार, लाल गणेशजस्ता सांस्कृतिक सम्पदा छन् ।