बागलुङ ।
बागलुङमा वार्षिक झण्डै एक करोड ५५ लाख ९९ हजार दुई सय लिटर दूध उत्पादन हुने गरेको छ । जुन उत्पादन जिल्लाको जनसङ्ख्याका लागि पुग्ने हो ।
विश्व खाद्य सङ्गठनको मापदण्ड अनुसार एकजनाका लागि वार्षिक ९१ लिटर दूध आवश्यकता हुन्छ । एक लाख ६८ हजार सात सय १३ जनसङ्ख्या रहेको जिल्लामा वार्षिक एक कारोड ५३ लाख ५२ हजार आठ सय ८३ लिटर दूध भएपुग्छ । आवश्यकताभन्दा प्रतिव्यक्ति वार्षिक १.४६ लिटर दूध बढी उत्पादन भइरहेको जिल्लाले अझै पनि दुग्धजन्य उत्पादनबाट आयआर्जन गर्न सक्ने कृषि विज्ञको भनाइ छ ।
बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा सञ्चालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा मङ्गलबार आत्मनिर्भरमुखी राष्ट्रिय कृषि सम्मेलन भएको थियो । सम्मेलनमा सहभागी विज्ञहरुले स्वयात् क्रान्ति अर्थात दूध र दुग्धजन्य उत्पादनबाट लिन सकिने लाभको विषयमा चर्चा गरे । अत्मनिर्भर हुनेगरी कृषि कर्म गर्दा हरित क्रान्ति र स्वयात् क्रान्तिको आवश्यकता रहेको उनीहरुको भनाइ थियो ।
सम्मेलनमा गण्डकी प्रदेशका कृषि मन्त्रालयअन्तर्गतका कृषि विज्ञ, बागलुङ, पर्वत र म्याग्दीका कृषि ज्ञान केन्द्र र भेटेरिनरी तथा पशुसेवा विज्ञ केन्द्रका विज्ञका साथै स्थानीय किसानको उपस्थिति थियो ।
गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयका प्रदेश सचिव डा टङ्कप्रसाद प्रसाइँले कृषिमा दुई क्रान्तिको आवश्यक रहेको बताए । उनले कृषिको विकासका लागि हरित र स्वयात् क्रान्तिको आवश्यकता रहेको बताए ।
सचिव प्रसाइँले हरित क्रान्तिमार्फत कृषि क्षेत्रमा ताजा तरकारी, करेसाबारीको व्यवस्थापन, व्यावसायिक तरकारी खेतीका साथै आवश्यक खाद्यान्न उत्पादन र फलफूलखेती गर्नुपर्ने भन्दै स्वयात् क्रान्तिमार्फत दुग्धजन्य पदार्थ उत्पादनको लागि पशुपालन र दूध उत्पादन प्रशस्त मात्रामा गरिनुपर्ने बताए ।
“मनाङ, मुस्ताङ र कास्कीमा उत्पादन न्यून छ । यी तीन जिल्लामा उत्पादनमा जोड दिनुपर्ने अवस्था छ । ती जिल्लामा विशेष कार्यक्रम लागू गर्नुपर्ने हुन्छ,” उनले भने, “गोरखा, लमजुङ, तनहुँ, पर्वत, स्याङ्जा र बागलुङ जिल्लामा खाद्यान्न आवश्यकस्तरमा उत्पादन हुन्छन् । गण्डकी प्रदेश पर्यटकीय र धार्मिक पर्यटकीय प्रदेश भएकाले बाहिरबाट आउने पर्यटकलाई प्रयाप्त मात्रमा स्थानीयस्तरमा उत्पादित खाद्यान्न खुवाउनको लागि उत्पादन बढाउनुपर्ने हुन्छ ।”
प्रदेशमा स्थानीय जातका अन्नबाली बढाउनुपर्ने देखिएको छ । “खाद्यान्नबाली, तरकारी, फलफूलखेती गर्दै उत्पादनमा जोड दिनुपर्ने अवस्था देखिएको छ । दूध उत्पादनमा पनि प्रदेशले विशेष जोड दिनुपर्छ”, डा प्रसाइँले भने । उत्पादन बढाउनका लागि सामूहिकताको खेतीलाई विस्तार गर्नुपर्ने र भूमिको विकास गर्दै व्यावसायिक खेती गर्नु अहिलेको अपरिहार्य देखिएको उनको भनाइ छ ।
गण्डकी प्रदेश सरकारले दुग्ध व्यवसाय, सुन्तला बगैँचा स्थापना, तरकारी खेती, कुखुरापालन, बाख्रापालन, स्याउखेती, नमुना कृषि गाउँ, कृषि पर्यटन केन्द्रीत कार्यक्रमलाई प्राथमिकता दिएर काम गरिरहेको छ । स्थानीय जातका अन्नबालीलाई व्यावसायिक गराएर आत्मनिर्भर बनाउने तर्फ प्रदेश लागेको छ ।
आत्मनिर्भर बनाउनको लागि कृषि उत्पादन मात्र भएर नहुने बताउँदै प्रशोधन उद्योगको स्थापना गरिनुपर्नेमा सचिव प्रसाइँले जोड दिए । “कृषि उत्पादन मात्र हुँदैन प्रशोधन उद्योग आवश्यक पर्छ”, उनले भने, “त्यसका लागि कोलस्टोर निर्माण, दुग्ध चिस्यान, सङ्कलन केन्द्र , पशु र कृषि बीमा कार्यक्रमलाई जोड दिनु आवश्यक छ ।”
स्थानीय विकासका लागि सिँचाइ सुविधाको आवश्यकता रहेको बताउँदै सिँचाइ कार्यक्रमलाई सँगसँगै लैजानुपर्नेमा सचिव प्रसाइँले जोड दिए । वैज्ञानिक प्रविधिको प्रयोग गरेर स्थानीय जातका कृषि बालीलाई प्रोत्साहन र स्थानीय जातका पशुको संरक्षण गरिनुपर्ने उनको भनाइ छ ।
“विज्ञानमा आधारित प्रविधिलाई प्रवर्द्धन, स्थानीय जातका कृषि बालीलाई प्रशोधन गर्दै, पशुको पनि संरक्षण गर्नुपर्छ,” प्रसाइँले भने, “वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्दै उत्पादकत्व बढाउन कृषि मन्त्रालयल अगाडि बढीरहेको छ । स्थानीय गाईको संरक्षणका लागि गौशालाको कार्यक्रम सञ्चालन गरिरहेको छ ।” उहाँले बाँझो जग्गालाई कृषि भूमियोग्य जमिन बनाउने बारेमा प्रदेश सरकार चिन्तित रहेको बताए ।
प्रसाइँका अनुसार प्रदेश सरकारले उत्पादित खाद्यान्नको मूल्यलाई स्थिरता ल्याउने, रोगको सङ्क्रमणलाई उन्मूलन गर्न खोप कार्यक्रम अगाडि बढाएको छ । जलवायु परिवर्तन अनुकूल हुनेगरी प्रदेशले कृषि कार्यक्रम बढाइरहेको उनले बताए ।
सम्मेलनमा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जमिनलाई बाँझो नराख्न सुझाव दिए । उनले जे गर्दा पनि जमिनबाट उत्पादन हुने बताउँदै बाँझो जमिनलाई कृषि भूमिको रुपमा प्रयोग गरेर उत्पादन बढाउनुपर्ने बताए ।
सभापति शर्माले सुविधाको खोजीमा नेपाली युवा विदेशी रहेको बताउँदै संस्कार सुधारेर देश विकासमा लाग्नुपर्नेमा जोड दिए । उनले नेपाली बैद्धिक सनातन धार्मिक स्वतन्त्रताका पक्षपाती रहेको बताए।
स्वामी मुक्तिनाथ बाबा कमलानयन आचार्यले माटोको पहिचान गरेर उत्पादन गरेमा नेपाली खाद्यान्नको लागि परनिर्भरता बन्नुपर्ने बताए। “भारतबाट सागसब्जी नआउने हो भने हाम्रो उपाय लाग्दैन”, उनले भने, “परनिर्भरतामा हामी परआश्रित भएर बाच्नुपरेको छ । विभिन्न ठाउँको माटोको पहिचान गरेर उत्पादन गर्ने हो भने हामी परनिर्भरता बन्नुपर्ने थिएन ।”
मङ्गलबार सम्पन्न आत्मनिर्भरमुखी राष्ट्रिय कृषि सम्मेलनमा गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ भानुभक्त भट्टराई, बागलुङ, पर्वत र म्याग्दीका कृषि र पशु कार्यालयका कृषि तथा पशुपक्षी विज्ञहरुका साथै किसानको उपस्थिति थियो ।
Comment