१४ किलो सुन तस्करी प्रकरण : प्लाटिनम कलेजका सञ्चालक गुरूङ पक्राउ

१४ किलो सुन तस्करी प्रकरण : प्लाटिनम कलेजका सञ्चालक गुरूङ पक्राउ

काठमाडौं ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १४ किलो सुन तस्करीमा मुछिएका जीवनकुमार गुरूङलाई पक्राउ गरेको छ।

सोमबार बिहान काठमाडौंको सामाखुसी क्षेत्रबाट उनलाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनी प्लाटिनम कलेजका सञ्चालक समेत हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन तस्करी गरी ल्याएको घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो।

विमानस्थल भन्सार कार्यालयले गत मंसिर २१ गते फ्लाइ दुबईबाट काठमाडौं आएका चन्द्र घलेबाट १४ किलो सुन बरामद गरेको थियो। त्यतिबेला भन्सार कार्यालयले विमानस्थलका कर्मचारीहरूलाई पनि पक्राउ गरेको थियो।

भन्सार कार्यालयले यसमा मीनबहादुर घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, डनबहादुर गुरूङ र उनकी श्रीमती बिना गुरूङलाई मुख्य प्रतिवादी बनाएको थियो। यस्तै विमानस्थलका कर्मचारी प्लम्बर शेरबहादुर बस्नेत, कार्यालय सहयोगी रमेश देउला, लेकबहादुर तामाङ, एयर कन्डिसनर चलाउने/मर्मत गर्ने राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठविरूद्ध पनि मुद्दा दायर भएको हो। डनबहादुर भने फरार थिए।

यस्तै भन्सार कार्यालयले त्यतिबेला जीवनकुमार विरूद्ध मुद्दा चलाएको थिएन। अब पूरक अनुसन्धानको क्रममा उनको संलग्नता देखिएपछि पक्राउ पुर्जी लिइएको थियो।

स्रोतका अनुसार उनको र मीनबहादुर घलेबीच बारम्बार कुराकानी भएको प्रमाण फेला पारेको छ। भन्सार कार्यालयले उनीसँगै थप केही व्यक्तिहरूमाथि पनि अनुसन्धान गरिरहेको छ।