लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने

लुम्बिनी ।

बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने भएको छ ।

अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा फागुन २०, २१ र २२ गते लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ (वाचन) हुने भएको हो ।

अन्तर्राष्ट्रिय स्तरमै बुद्ध जन्मस्थललाई थप प्रचार–प्रसार गर्ने र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले बुद्ध जन्मस्थलमा लुम्बिनीमा तेस्रो पटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुन लागेको आयोजकले जनाएको छ।

बौद्ध दर्शनमा त्रिपिटकको विशिष्ट महत्व रहेकाले लुम्बिनीमा हुने यस कार्यक्रमले बुद्ध दर्शन र लुम्बिनीको प्रवद्र्धनमा टेवा पु¥याउने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको संग्रहित ग्रन्थ त्रिपिटक हो । अपिधम्म शुत्र पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोस्रो शताब्दी ईशापूर्वमा लेखिएको विनय पिटक गरी ३ ग्रन्थलाई मिलाई बनाइएको ग्रन्थलाई नै त्रिपिटक भनिन्छ ।

अन्तर्राष्ट्रिय समुदायलाई बौद्ध तीर्थस्थल, बौद्ध शिक्षा, साहित्य तथा दर्शन, त्रिपिटकको महत्वबारे जानकारी गराउनुका साथै धार्मिक पर्यटनको प्रचार–प्रसारका लागि त्रिपिटक वाचन कार्यक्रम राखिएको अखिल नेपाल भिक्षु महासंघका सचिव भिक्षु निग्रोधले जानकारी दिए ।

त्रिपिटक वाचनमा नेपाल, भारत, श्रीलंका, म्यानमार, थाइल्यान्ड, कोरिया, जापानलगायत एसियाली देशका भिक्षु, धर्मगुरु, अनुयायीको सहभागिता रहने उक्त कार्यक्रममा बुद्ध वचनको संग्रह त्रिपिटक अन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधर्म पिटकको वाचन हुनेछ । सूत्रपिटक अन्तर्गतको दीर्घ निकायको बह्रमजाल सूत्र, अभिधर्म पिटक वाचन र विनय पिटक वाचन गरिने छ ।

त्रिपिटक वाचनका क्रममा शान्ति पदयात्राको कार्यक्रम राखिएको छ । सर्वसाधारण समेत सहभागी हुन सक्ने गरी कार्यक्रम आयोजना गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो । हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश संगृहित छ । यो ग्रन्थ पाली भाषामा लेखिएको भए पनि धार्मिक प्रभावअनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ ।