पर्यटनमन्त्रीविरुद्ध लुम्बिनीमा नाराबाजी, राजीनामाको माग

पर्यटनमन्त्रीविरुद्ध लुम्बिनीमा नाराबाजी, राजीनामाको माग

लुम्बिनी ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेविरुद्ध लुम्बिनीमा नाराबाजी भएको छ । मन्त्री पाण्डेले लुम्बिनीबासीलाई बेवास्ता गरेको भन्दै स्थानीयले उनको राजीनामा माग गरेका छन् ।

लुम्बिनी विकास कोषको अध्यक्षसमेत रहेका मन्त्री पाण्डे विकास कोषको परिषद् बैठकमा भाग लिन लुम्बिनी पुगेका थिए । मन्त्री पाण्डेलाई लुम्बिनी विकास कोषको बेथितिबारे जानकारी दिन तथा ज्ञापनपत्र बुझाउन समय माग गर्दा बेवास्ता गरेको र कोषको अनियमिततालाई ढाकछोप गर्ने प्रयास गरेको भन्दै स्थानीय लुम्बिनी बचाउ महाअभियानले उनको राजीनामा माग गरेको बताएको छ ।

संस्कृतिमन्त्री पाण्डेसहित कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामा, सदस्य सचिव सानुराजा शाक्य र प्रशासकीय प्रमुख ज्ञानिन राईसमेतको राजीनामा माग गर्दै सयौँको संख्यामा विरोधमा उत्रिएपछि मात्र मन्त्रीलाई भेट्ने समय मिलाइएको महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए ।

मन्त्री पाण्डेले परिषद् बैठक रोकेर भेट्ने तथा ज्ञापनपत्र बुझ्ने समय मिलाएपछि मात्र अभियानले विरोधका अन्य कार्यक्रम फिर्ता लिएको महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए । उनले भने, ‘शान्तिपूर्ण कुरा नसुनिदिने तथा आन्दोलित लुम्बिनीबासीका जायज माग बेवास्ता गरी कोषका २-४ जना पदाधिकारी/कर्मचारीको कुरामा बहकिने मन्त्री पाण्डे सो पदका लागि योग्य छैनन ।’

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामाले मन्त्रीको व्यस्त समय तालिकाका कारणले स्थानीयलाई समय दिन ढिलाइ हुन गएको बताए । उनले भने, ‘आफू पूर्ण निष्ठा र इमान्दारीका साथ लुम्बिनीलाई बचाउन, बनाउन र गुरुयोजना पूरा गर्न लुम्बिनी आएको हो ।’ लुम्बिनी विकास कोषभित्रैबाट आफूलाई असल काम गर्न असहयोग भइरहेको उनले बताए ।