बुटवलमा सूचनाको हकसम्बन्धी तालिम

बुटवलमा सूचनाको हकसम्बन्धी तालिम

लुम्बिनी ।

रूपन्देहीको बुटवलमा सूचनाको हकसम्बन्धी अभियानकर्ताका लागि २ दिने तालिम सम्पन्न भएको छ ।

सूचनाको हकसम्बन्धी क्षेत्रमा क्रियाशील तथा अभिरुची राख्ने २४ जना अभियानकर्मीको सहभागितामा सम्पन्न सो तालिम सामुदायिक सारथीको आयोजना तथा युएस एड/द एसिया फाउन्डेसनको सहयोगमा सञ्चालन भएको हो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले आयोगको गठन, कामकाज र अधिकार क्षेत्रका बारेमा जानकारी गराए । आयोगले हालसम्म गरेको महत्वपूर्ण निर्णय र सूचना शक्तिका बारेमा प्रकाश पार्दै आयुक्त मैनालीले राष्ट्रिय सूचना आयोग अन्य संस्थाको तुलनामा बढी शक्तिशाली रहेको बताए ।

प्रशिक्षक ताराबहादुर भण्डारीले सूचनाको हक, यसको सिद्धान्त, सार्वजनिक निकाय, सूचनाको वर्गीकरण, कानुनी प्रावधान र सूचना अधिकारीको जिम्मेवारी तथा काम कर्तव्य र अधिकार जस्ता विषयमा विस्तृत प्रशिक्षण दिएका थिए । उनले सूचना माग्ने तरिका, उजुरीको प्रक्रिया र सूचनाबाट उत्पादन शक्तिको महत्व पनि दर्शाए ।

त्यसैगरी, प्रशिक्षक कर्णबहादुर नेपालीले वकालत, सहकार्य, सशक्तीकरण, सूचनाको दुरुपयोग, जरिमाना, र कार्ययोजनालगायत विषयमा जानकारी दिए । अर्का प्रशिक्षक लुनिभा तुलाधरले सूचना मागको पूर्वकार्ययोजना, सशक्तीकरणका उपाय, व्यक्तिगत पहिचान खोज्ने तरिका र महत्वका बारेमा जानकारी दिइन् ।

तालिममा सहभागीहरूले तालिमपश्चात् कम्तीमा पनि एक–एक वटा सूचना माग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमको अन्तिममा रामविकास चौधरीको अध्यक्षतामा ११ सदस्यीय सूचनाको हकका लागि जिल्ला कार्यसमिति समेत चयन गरिएको छ । समितिको उपाध्यक्षमा सञ्जयकुमार मिश्र, सचिवमा अग्निशक्ति यादव, सहसचिवमा माया केसी र कोषाध्यक्षमा विजया खत्री छन् । त्यसैगरी सल्लाहकारमा महेन्द्र थापालाई चयन गरिएको अध्यक्ष चौधरीले बताए ।