कसले काट्याे किसानले लगाएकाे लाखौँकाे तरकारी र फलफूलका बाेट ?

कसले काट्याे किसानले लगाएकाे लाखौँकाे तरकारी र फलफूलका बाेट ?

लुम्बिनी ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका-४ बैरघाटका किसान रमेश चौधरीको करिब ३ लाख रुपैयाँ मूल्य बराबरको तरकारी र फलफूल अज्ञात व्यक्तिले नष्ट गरिदिएका छन् । गत बिहीबार राति अज्ञात व्यक्तिले चौधरीको बाली जरा नै काटेर नष्ट गरेका हुन् ।

चौधरीले स्थानीय आशोक सिंहबाट बर्सेनि नगद तथा जिन्सी गरी २ लाख २० हजार रुपैयाँमा पोखरीसहितको २ बिघा ११ कठ्ठा कृषियोग्य जग्गा लिजमा लिई मछापालन र तरकारी खेती गर्दै आएका थिए ।

बिहीबार राति अज्ञात व्यक्तिले कुरिलो, काँक्रा, खेखसी र पपितालगायत ५२ वटा तरकारी र फलफूलहरूको जरा काटेर नष्ट गरेका छन् । चौधरीले बिहीबार साँझ घर फर्कँदा सबै तरकारी र फलफूल ठिक अवस्थामा रहेको बताए । बिहान उठ्दा भने सबै बाली काटेर फालिएको अवस्थामा देखे । उनले भने, ‘मैले कसैको केही बिगारेको थाहा छैन, म केवल आफ्नो खेतीमा व्यस्त थिएँ । मेरो महिनौँको मेहनत एक रातमै सखाप भएको छ।’

इलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले यस घटनाबारे जानकारी दिँदै भने, ‘प्रारम्भिक छानबिनमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ । बाली नष्ट गर्ने व्यक्तिलाई कानुनको दायरामा ल्याई कारबाही गरिनेछ ।’