लुम्बिनी कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच छलफल

लुम्बिनी कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच छलफल

विकास, संरक्षण र सहकार्यको आवश्यकतामा जोड

विकास, संरक्षण र सहकार्यको आवश्यकतामा जोड

लुम्बिनी । 
स्थानीयले सुशासन र पारदर्शिताको माग गर्दै चौतर्फी विराेध र कार्यालयमा तालाबन्दी गरिरहँदा लुम्बिनी विकास कोषले लुम्बिनी सांस्कृतिक नगरपालिकाका जनप्रतिनिधिहरूसँग छलफल गरेको छ । कोषका पदाधिकारीसहित नगरपालिकाका उपप्रमुख, वडाध्यक्षहरू, विभिन्न बिहारका प्रतिनिधि र बौद्ध भिक्षुहरूसहितको उपस्थितिमा छलफल भएको हो ।

छलफलका क्रममा बुद्ध जन्मस्थल लुम्बिनी पुरातात्विक, धार्मिक तथा सांस्कृतिक हिसाबले नेपालको अमूल्य सम्पत्ति रहेकाले यसको विकास, संरक्षण र प्रवर्द्धनमा लुम्बिनीबासी, स्थानीय सरकार र लुम्बिनी विकास कोषबीच सहकार्य गर्नुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले लुम्बिनीको विकास र संरक्षण आफूहरूले मात्रै गरेर नहुने बताउँदै स्थानीय सरकार, लुम्बिनीका स्थानीय बासिन्दाको साथ र सहयोग आवश्यक हुने बताए । उनले कोषका वर्तमान पदाधिकारीहरू स्थानीयको सवालमा संवेदनशील रहेको बताउँदै लुम्बिनीलाई बौद्धमार्गी र विश्व शान्तिका अनुयायीहरूको थलोका रूपमा विकास गर्नुपर्ने बताए ।

उनले लुम्बिनीमा लुम्बिनी बचाउ महाअभियानको मागमा कोषको नियम र विधिले मिल्नेसम्मका बुँदाहरूमा सकारात्मक रहेको तर मागहरू लुम्बिनी अशान्त छ भन्ने सन्देश दिने गरी नगर्न समेत आग्रह गरे । उनले स्थानीय तहका जनप्रतिनिधिहरूले लुम्बिनीलाई साँच्चिकै विश्व शान्ति स्थलका रूपमा विकास गर्न सहयोग गर्नुपर्ने बताए ।

सो अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले लुम्बिनी विकास कोषले स्थानीयबासी र स्थानीय सरकारसँग समन्वय र सहकार्यमा कन्जुस्याई गरेको भन्दै अब सहकार्य गरेर स्थानीयहरूको मागलाई समयमै सम्बोधन गरेर अगाडि बढ्न सुझाव दिइन । लुम्बिनी बचाउ महाअभियानले मागेको सूचना तत्काल उपलब्ध गराइ वार्ताका माध्ययमबाट लुम्बिनीमा शान्ति, सुशासन र पारदर्शिता कायम गराउन उनले आग्रह गरिन् ।

उपप्रमुख हरिजनले गुरुयोजनविपरीत निर्माण भएका संरचनाहरूका नक्सा पासको प्रक्रियाबारे जिज्ञासा राखिन् । उनले मायादेवी सुत्केरी मार्गलाई व्यवस्थित रूपले सौन्दरीकरण गरी सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिइन् । उनले स्थानीयलाई ग्राह्यता दिनुपर्ने बताउँदै उत्खननकाे समयमा मायादेवी मन्दिरभित्र फेला परेका मूर्तिहरू सार्वजनिक गर्न आग्रह गरिन् । उनले भनिन्, ‘लुम्बिनीको बेथिति र भ्रष्टाचारको जिम्मा यहाँका पदाधिकारी र कर्मचारीले लिनैपर्छ ।’

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत भएको स्थल र विश्वका बौद्धमार्गीहरूको आस्थाको केन्द्र भएकाले यहाँको विषयमा सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड दिए ।

उनले युनेस्कोले खतराको सूचीमा नराख्ने निर्णय भए पनि यसको संरक्षणका लागि कोषसँगै स्थानीय सरकार र स्थानीयहरूले समेत साथ सहयोग गर्नुपर्ने बताए । लुम्बिनीभित्रको संरचनाले मात्रै खतरामा नपरेको बताउँदै वातावरण प्रदूषण, प्रो क्वाकले भनेको शान्ति सहर जस्ता विषयमा समेत प्रश्न उठेकाले यस विषयमा संघ, प्रदेश र स्थानीय सरकारले समेत चासो र सहकार्य गर्नुपर्ने उनले बताए ।

छलफलमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडाध्यक्षहरूले लुम्बिनी सांस्कृतिक नगरपालिकासँग कोषले सहकार्य नगरेको गुनासो गरे । वडा १० का अध्यक्ष विनोद कहार र ९ का वडाध्यक्ष अख्तर हुसेनले स्थानीयलाई बेवास्ता गरेर लुम्बिनी नबन्ने भएकाले आन्दोलनरत लुम्बिनी बचाउ महाअभियानसँत तत्काल वार्ता गरी समस्या समाधान गर्नुपर्ने बताए ।

सो अवसरमा विहारहरूका प्रतिनिधिहरूले आफूहरूले धर्मशाला सञ्चालन गरिरहे पनि होटलका रूपमा सञ्चालन गरेको भनेर स्थानीय होटल व्यवसायीहरूले गुनासो गरेकामा दुःख व्यक्त गरेका थिए । उनीहरूले धर्मशालामा आउनेहरू धार्मिक तीर्थयात्रीहरू रहेको भन्दै त्यस्ता विषयले धार्मिक तीर्थयात्रीहरू लुम्बिनी आउने क्रम घट्न सक्नेतर्फ सजग गराएका थिए ।

छलफलमा भन्ते विवेकानन्द, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, विहारका प्रतिनिधिहरूले धारणा राखेका थिए । कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, सशस्त्र प्रहरी बलका डिएसपी, कोषका विभागीय प्रमुखहरू, विहारका प्रतिनिधिहरूको उपस्थिति थियो ।